काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रूपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ।
मन्त्री यादवले लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन्। उक्त निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको लिमिटेडले जनाएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि नै केहि उधोगहरुले भाडा तिर्न बाँकी राखेका थिए। केहि दिन अगाडी करिब ६३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सुचनानै प्रकशित गरिएको र अधिकांशले धमाधम बक्यौता चुक्ता गरेका छन्।
बाँकी उद्योगको बिजुली काटियो
मन्त्री यादवले तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत लाइन काट्न निर्देशन दिएसँगै लिमिटेडले कडा कदम चालेको छ। सुरुमै झन्डै २ सय बढी उद्याेगको लाइन काटिएको थियो। ति उद्याेगहरूले भाडा तिरेपछि लाइन जोडिएको छ ।
अझै भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए । मन्त्री यादवले उक्त उद्याेग बक्यौता पूर्ण रुपमा चुक्ता नहुदा सम्म लाइन नाजोड़ने स्पष्ट निर्देशन दिएको लिमिटेडले बताएको छ ।
बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा.लि.को करिब ३ करोड ६९ लाख रूपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रा.लि.को करिब एक करोड रूपैयाँ भाडा उठ्न बाँकी रहेको छ।
हाल यी दुवै उद्योगको समेत विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ। भाडा तिर्न आनाकानी देखि बाह्य दबाबका बाबजुद मन्त्री गौरिकुमारी यादबको स्पष्ट निर्देशनका कारण छोटो समयमै उल्लेखित बक्यौता उठाउन सकिएको लिमिटेडका महाप्रबन्धक ओलीले बताए ।



प्रतिक्रिया दिनुहोस्