सरकारसँग कुरियर व्यवसायीको मागः कुरियर सेवालाई हुलाक जस्तै अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गरियोस्


काठमाडाैँ । कुरियर व्यवसायीहरुले करियर सेवालाई पनि अत्यावश्यक सेवाको रुपमा वर्गीकरण गर्न सरकारसँग माग गरेका छन् । 

मंगलबार हुलाक सेवा विभागले काठमाडौंमा  आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिलराज भट्टराईले उक्त माग गरेका हुन् ।

उनले आफूहरूलाई सञ्चार मन्त्रालय अन्तर्गत राखिएको हो कि उद्योग मन्त्रालत अन्तर्गत हो ? भन्ने विषयमा पनि स्पष्ट हुनेगरी कानूनी व्यवस्था गर्न सरकारलाई सचेत गराए । हुलाक सेवा जस्तै अत्यावश्यक सेवा हो भन्ने कुरालाई मनन गरेर सरकारले तत्काल कुरियर सेवा पनि त्यसमा वर्गीकरण गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाई थियो ।

उनले नेपालको निर्यात क्षेत्रमा ६० प्रतिशत भन्दा बढी काम गरेको कुरियर सेवालाई भन्सारमा काम गर्नका लागि उचित व्यवस्था समेत नभएको गुनासो गरे । अध्यक्ष भट्टराईले सरकारले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै सरकारको आलोचना पनि गरे ।

उनले भने, “हामीले कुरियर सेवालाई कुनै समयमा संचार अन्तर्गत भन्ने छ । तर हामी हुलाक ऐन अन्तर्गत छौँ । अब कहिले कुनै समस्या प¥यो जस्तो कि कोरोनाको टाइममा हामीलाई पासको समस्या प¥यो । सञ्चार मन्त्रालयमा गयौँ, होइन तिमीहरुको सञ्चार मन्त्रालयका जाउ, उद्योगमा गयो भने होइन उद्योगको होइन, सञ्चारमा जाउ भन्ने यस्तो किसिमको छ । कुरियर सेवा पनि हुलाक सेवाजस्तो अत्यावश्यक सेवामा वर्गीकरण गरेर यसलाई चौविसै घण्टा आवतजावत गर्न दिनु पर्दछ । किनभने हामीले अति संवदेनशील  भ्याक्सिनहरु भयो, अति संवेदनशील सामानहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करियर गर्दछौ, पठाउने, ल्याउने गर्दछौँ । र यसले निर्यातमा पनि धेरै महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । यो भन्दा अघिको अर्थमन्त्रीले त भन्सारमा पनि गएर हेर्नु भएको थियो । कुरिएरले निर्यातको काम ६० प्रतिशत भन्दा बढी धानिराखेको छ । त्यति धेरै महत्वपूर्ण काम हुँदा हुँदा पनि एयरपोर्टमा हामीलाई व्यवस्थित भएन ।”

अध्यक्ष भट्टराईले कुरियर सेवा संवेदनशील सेवा पनि भएकाले यस्ता सामग्रीहरुको आवातजावत चौविसै घण्टा हुने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।