काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बिमित नागरिकको उपचार सेवामा कुनै प्रकारको अवरोध नगर्न आग्रह गरेको छ।
सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका कारण केही अस्पतालको दाबी भुक्तानी ढिलो भए पनि बीमा कार्यक्रमलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न बोर्ड प्रतिबद्ध रहेको जनाएको छ।
आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले स्वास्थ्य बिमा कार्यक्रमले नागरिकले उपचारका क्रममा आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च घटाएर वित्तीय जोखिमबाट संरक्षण प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ। यद्यपि कार्यक्रमको दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भएको स्वीकार गरेको छ।
बोर्डका अनुसार चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४६ करोड २ हजार ८१६ रुपैयाँ भुक्तानी गरिएको छ। उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम फर्छ्योट गरिएको जनाएको छ।
बोर्डले २०८२ मंसिरपछि परेको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको जानकारी दिएको छ।
यस्तै, अस्पतालहरूलाई बीमित सेवाग्राहीको उपचारमा कुनै अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएको मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउन आग्रह गरिएको छ।
बोर्डले बीमित नागरिकलाई पनि स्वास्थ्य बिमा सेवाको जिम्मेवार र सदुपयोग गर्न अनुरोध गरेको छ। अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन आग्रह गर्दै कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बोर्डले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्