काठमाडाैँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनैपनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको प्रष्ट पारेका छन् ।
नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।
सरकारले साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरूसँग आग्रह गरे । आफूले सञ्चार माध्यमहरू बन्द गरेको आरोप खेप्नुपरेको भन्दै उनले सञ्चार माध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा ध्यान दिन आग्रह गरे ।
पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरामा सरकार जानकार रहेको उनले स्पष्ट पारे । पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य नरहेको उनको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले सरकार सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन तयार रहेको जिकिर गरे । कुनैपनि गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउन पनि उनले चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्