ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा प्रश्रय राजभण्डारीको नेतृत्वमा ‘समावेशी समूह’ चुनावी मैदानमा


काठमाडौँ । काठमाडौँको पर्यटकीय केन्द्र ठमेलको समग्र विकास र प्रवर्धनका लागि स्थापित मुख्य संस्था ‘ठमेल पर्यटन विकास परिषद्’ को आगामी असार २७ गते हुने निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ ।

चुनावका लागि पूर्वउपाध्यक्ष प्रश्रय राजभण्डारीको नेतृत्वमा समावेशी समूहले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ ।

ठमेलको पर्यटन व्यवसायलाई चलायमान बनाउने, व्यवसायीका हकहितको संरक्षण गर्ने र यस क्षेत्रलाई सुरक्षित तथा व्यवस्थित बनाउने मुख्य एजेन्डासहित राजभण्डारी समूह चुनावी मैदानमा उत्रिएको हो ।

समूहको प्रथम उपाध्यक्षमा श्रीकृष्ण थपलिया, द्धितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ र तृतीय उपाध्यक्षमा रमेश थापा, महासचिवमा पून्यराम लागेजु, सचिवमा प्रकाश थपलिया र कोषाध्यक्षमा रोशन अधिकारीले उम्मेदवारी दिएका छन् ।

कार्यसमिति सदस्यमा कमल अर्याल, सोजेश मालाकार, नवीन तामाङ, पूर्णिमा मालाकार, लालबाबु चौधरी, गोविन्द कुमार श्रेष्ठ, मीरा अधिकारी र सोम प्रसाद बानियाँ (आलोक) ले उम्मेदवारी दिएका छन् ।

राजभण्डारी समूहले ठमेलको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई जोगाउँदै आधुनिक पर्यटनमैत्री पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।