आइक्यानको निर्वाचन प्रक्रिया सुरु


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को निर्वाचन प्रक्रिया सुरु भएको छ ।

असार ३२ गते हुने अध्यक्ष र उपाध्यक्ष चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गरेको छ । तीन वर्ष कार्यकाल रहने आइक्यानको काउन्सिल परिषद्ले हरेक वर्ष अध्यक्ष र उपाध्यक्ष चयन गर्ने गर्दछ ।

आइक्यानले असार मसान्तसम्ममा अध्यक्ष र उपाध्यक्ष चयन गर्छ । काउन्सिल १७ सदस्यीय छ । सरकारले आफ्नो तर्फबाट प्रतिनिधि पठाएपछि काउन्सिलले पूर्णता पाएको छ ।

सरकारका प्रतिनिधिसहित १७ जनाको मतदाता नामावली प्रकाशन भएको छ ।

आइक्यानको अध्यक्ष र उपाध्यक्षका लागि असार ३० गते १२ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।

भोली नै मनोनयन दर्ता गर्ने उम्मेदवारको नाम सार्वजनिक गर्ने छ । असार ३१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने असार ३२ गते १२ देखि ३ बजेसम्म मतदान हुने छ ।