काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छिन् ।
नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताइन् ।
यि लक्ष्य हासिल गर्न चीन सरकार, सिडका, एफएओ तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको उनकाे भनाइ छ । उजले अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य श्रृङ्खला विकास गर्ने बताइन् ।
उनले नेपालको कृषि क्षेत्र न्युन उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्मको सिमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको उल्लेख गरिन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यातमा समेत समस्या भएको उनले बताइन् । उनले आधुनिक परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन् ।
उनले चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेण्ट कोअपरेशन एजेन्सी (सिडका) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को सहयोगमा शुरु भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सरकारको कृषि आधुनिकीकरण, व्यवसायीकरण र दिगो विकाससम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको बताइन् ।
उनले चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण र समस्यारहित रहेको उल्लेख गर्दै कृषि आधुनिकीकरण र गरिबी न्युनिकरणमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गरिन् । ज्ञान, प्रविधि र असल अभ्यासको आदान–प्रदानले कृषि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्