काठमाडाैँ । सहकारी पीडितहरुले समान रुपमा वचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमवार माईतीघरमा सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितहरूले सरकारले साना र ठूला वचतकर्ता भनेर पीडितहरुलाई विभाजन गरेर पीडितहरुको आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन् ।
सहकारी पीडित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनकारी सहकारी पीडितहरूको वचत पहिला फिर्ता गर्न सरकारसँग माग गरे । माग सम्बोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउदाँ समेत सुनुवाई नभएको उल्लेख गर्दै अब सहकारी पीडितहरूको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
सहकारी पीडितसँग विगतमा गरेका सम्झौताहरू कार्यन्वयन गराउन आफूहरुले प्रदर्शनमा उत्रिएको उनको भनाइ छ । उनले सरकारले साना र ठूला बचतकर्ता भनेर सहकारी पीडितलाई नै विभाजन ल्याउन खोजेको पनि आरोप लगाए ।
सबै पीडित समान रहेकोले सबैलाई समान व्यवहार गरेर बचत फिर्ता गर्न उनले सरकारसँग आग्रह गरे । सरकारले हाल ठूला ऋणीसंँग कर्जा असुली गरेर साना वचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ ।
प्रदर्शनमा सहभागीहरुले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो वचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म ?’, ‘जग्गा मिलानका नाममा पीडित वचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित वचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित वचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । यस्तै उनीहरुले आफू पीडित बनेको सहकारी सञ्चालकका फोटोसहितको व्यानर समेत प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्