समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी


काठमाडाैँ । वागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले समस्याग्रस्त सहकारी र ठिक ढंगले चलिरहेका सहकारीहरुलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएकी छिन् । 

बुधबार काठमाडौँमा वागमती प्रदेश वचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) को ७ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले समस्याग्रस्त सहकारीमा देखिएका समस्या समाधान तथा व्यवस्थापन गर्न वागमती प्रोस्कुनले भुमिका खेल्नुपर्ने समेत बताइन् । प्रदेशमा रहेका सहकारीमा देखिएका समस्या समाधान र व्यवस्थापन गर्न सहकारी ऐन संशोधनको चरणमा रहेको उनले उल्लेख गरिन् ।

उनले संशोधन प्रश्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको उल्लेख गर्दै छिट्टै प्रदेश सभाबाट पारित हुने विश्वास समेत व्यक्त गरिन् । पूर्वसहकारीमन्त्री समेत रहेकी रायमाझीले संघीय सहकारी ऐनसँग बाझिएका वा संशोधन गर्नुपर्ने विषय पहिचान गरी समायोजनका लागि सिफारिस भइसकेको समेत जानकारी दिइन् ।

उनले सहकारी क्षेत्रमा देखिएका समस्या हल गर्न भुमिका खेल्न प्रोस्कुन बागमतीलाई आग्रह समेत गरिन् ।