काठमाडाैँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बजेट अभावका कारण मन्त्रालय अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा अवरोध हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सिंहदरबारमा बिहीबार आयोजित मन्त्रालयको त्रैमासिक समीक्षा बैठकमा बोल्दै उनले बजेट विनियोजनको क्रममा देखिएका प्राविधिक कठिनाइहरू समाधान गर्न आफूले पहल गर्ने बताएका हुन् ।
मन्त्री तिमिल्सिनाले बजेट निर्माणको समयमा प्रत्येक निकायसँग सघन छलफल गरिएको भएपनि कार्यान्वयनको चरणमा कतिपय महत्वपूर्ण शिर्षकहरूमा बजेट कटौती भएको पाइएको उल्लेख गरे । विशेषगरी हुलाक सेवा विभागको ढुवानी सेवालाई प्रभावकारी बनाउन प्रश्ताव गरिएको मोटरसाइकल खरिदको बजेट कटौती भएकोमा उनले चासो व्यक्त गरे ।
उनले बजेट कटौतीको विषयमा आफूले अर्थमन्त्रीसँग सिधै संवाद गर्ने स्पष्ट पारे । नियतवश नभए पनि प्राविधिक कारणले कतिपय अत्यावश्यक योजनाहरू छुटेको हुनसक्ने भन्दै उहाँले त्यस्ता समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्ने बताए ।
उनले भने, “हुलाक सेवाका कर्मचारीहरूको समस्या र कार्यसम्पादनलाई मध्यनजर गर्दै हामीले सवारी साधनको व्यवस्था गर्ने गरी बजेट प्रश्ताव गरेका थियौँ । तर बजेट विनियोजन हुँदा सो शिर्षक समावेश नभएको देखियो । अर्थ मन्त्रालयका अधिकारीहरूले कतिपय योजनाको गाम्भीर्यता नबुझी बजेट कटौती गर्दा त्यसले सेवा प्रवाहमा प्रत्यक्ष असर पारेको छ । यदि कुनै महत्त्वपूर्ण योजनाको बजेट काटिएको छ र त्यसलाई पुनः स्थापित गर्न प्राविधिक रूपमा सम्भव छ भने, त्यस्ता एजेण्डाहरू लिएर आउनुहोस् । म अर्थमन्त्रीसँग आवश्यक छलफल गरी बजेट व्यवस्थापनका लागि पहल गर्नेछु ।”
परिणाममुखी भएर काम गर्न कर्मचारीहरूलाई सञ्चारमन्त्रीको निर्देशनः मन्त्रालय सफल भए मात्र सरकार सफल हुने जिकिर
मन्त्री तिमिल्सिनाले मन्त्रालयको कार्यसम्पादन र सफलता नै समग्र सरकारको सफलताको आधार भएको बताए । मन्त्री तिमिल्सिनाले कर्मचारीहरूलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिए ।
मन्त्रालय मातहतका सबै निकायहरूले प्रभावकारी रूपमा कार्यसम्पादन गरे मात्रै सञ्चार मन्त्रालय सफल हुने र त्यसकै जगमा सरकारको सफलता निर्भर रहने उनको भनाइ छ । मन्त्रालयका समस्या समाधानका लागि आपसी समन्वय र सल्लाहमा जोड दिँदै उनले प्रशासनिक कार्यविधि वा अन्य अल्झनका कारण काम नरोक्न आग्रह गरे । निकायगत छलफल र समन्वयबाट समस्या समाधान नभए सिधै आफू वा मन्त्रालयको सचिवालयमा सम्पर्क गर्न उहाँले कर्मचारीहरूलाई आह्वान गरे ।
मन्त्री तिमिल्सिनाले भने, “यो सरकार कुनै टाढाको विषय नभई तपाईं–हाम्रै हातको विषय हो । तपाईंको कलम र कम्प्युटरले नै सरकारको गति निर्धारण गर्छ, त्यसैले यस विषयमा विशेष ध्यान दिनु जरुरी छ । मलाई पद वा मर्यादाभन्दा पनि परिणामसँग सरोकार छ । यदि गम्भीर प्रकृतिका समस्या छन् र त्यसको समाधान निस्किन्छ भने म जो-कसैलाई व्यक्तिगत रूपमा भेट्न र छलफल गर्न तयार छु ।”
मन्त्री तिमिल्सिनाले आफूलाई औपचारिकता वा शिष्टाचार भेटघाट (कोर्टेसी मिटिङ) मा भन्दा पनि कामको नतिजामा बढी रुचि रहेको स्पष्ट पारे । मन्त्री तिमिल्सिनाले कर्मचारीहरूलाई समस्या लुकाएर नराख्न र प्रक्रियागत ढिलासुस्ती हटाएर नतिजा निकाल्ने गरी जिम्मेवारी पूरा गर्न सचेत गराए । कार्यसम्पादनका क्रममा आइपर्ने जटिलता फुकाउन आफू सधैँ तत्पर रहेको उल्लेख गर्दै उनले नतिजाका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस्