काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन् । विहीबार सन्देश जारी गर्दै सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जमा हालै भएको दुःखद घटनापछि देशका केही भागमा देखिएको विषम परिस्थितिले चिन्तित तुल्याएको उल्लेख गरेका छन्।
उनले उक्त घटनामा ज्यान गुमाउनुहुनेप्रति श्रद्धान्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सो घटनापछि उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्ने हरसम्भव प्रयासमा सरकार लाग्नेछ भन्ने विश्वास लिएको उनले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, “यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, बापसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु । सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र घातृत्व नै हाम्रो देशको पहिचान र परम्परा हो। यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु।”
घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबैलाई सचेत हुन पनि आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्