सुनसरी घटना पीडित र सरकारबीच सातबुँदे सम्झौता, आज २ बजे मृतकको दाहसंस्कार गरिने


काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाका पीडित परिवार र सरकारबीच सातबुँदे सम्झौता भएको छ ।

सम्झौतासँगै मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आज दिउँसो २ बजे दाहसंस्कार गरिने भएको छ ।

सम्झौतामा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री सुशान गुरुङ तथा मृतकका परिवारका तर्फबाट अभिभावकहरूले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सरकारले मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

२०८३ साल साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

सम्झौतामा देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने उल्लेख छ ।

प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिसहरू प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख छ ।

सम्झौताका सात बुँदा;

१. मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र परिवारलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराउने।

२. घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने।

३. मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन गर्ने।

४. प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर दिने।

५. छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने।

६ मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने।

७. आज २०८३/०४/१९ गते दिउँसो २ बजे मृतकको अन्तिम संस्कार गर्ने।