काठमाडौँ । प्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएको छ ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो करिब १२ बजे काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरो गएको थियो । त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन।
उक्त आरोही समूहमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी नागरिक र पाँच जना नेपाली पर्वतारोही रहेको बिबिसीले जनाएको छ ।
निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर कीर्तिमानी कामय गरेका थिए ।
अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैद्रीले बिबिसीसँग भनेका छन्,“ “हामीले सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका छौं र मौसम अनुकूल भएमा पाकिस्तानी समयअनुसार शुक्रबार बिहान हेलिकप्टरमार्फत उद्धार अभियान सञ्चालन गर्ने प्रयास गरिरहेका छौँ ।”
ब्रड पिकलाई आरोहणका लागि निकै चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । यो विश्वको १२औँ अग्लो हिमाल हो ।
अल्पाइन क्लब अफ पाकिस्तानले छुट्टै विज्ञप्ति जारी गर्दै उद्धारका लागि उपलब्ध सबै स्रोतसाधनहरू यथाशीघ्र परिचालन गर्न सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
क्लबले विज्ञप्तिमा भनेको छ,“सबै पर्वतारोहीहरूको सुरक्षा र सफल उद्धारको कामना गर्दै, यो कठिन घडीमा उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति हामी ऐक्यबद्धता व्यक्त गर्दछौँ ।”


प्रतिक्रिया दिनुहोस्