काठमाडौँ । नेपालको कृषि यान्त्रिकीकरण क्षेत्रको दिगो विकास तथा प्रवर्द्धनका लागि नेपाल कृषि इन्जिनियर्स सोसाइटी र नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीअनुसार कृषि इन्जिनियरिङ अध्ययन पूरा गरेका जनशक्तिका लागि प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ। कृषि यान्त्रिकीकरणसँग सम्बन्धित संयुक्त अनुसन्धान तथा अध्ययन, तालिम, प्राविधिक ज्ञान आदानप्रदान र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
समझदारीपत्रमा नेपाल कृषि इन्जिनियर्स सोसाइटीका अध्यक्ष डा. जीत बहादुर चन्द र नामियाका अध्यक्ष कृष्ण शर्माले हस्ताक्षर गरेका हुन्। समझदारीपछि नेपाल कृषि इन्जिनियर्स सोसाइटीका अध्यक्ष चन्दले कृषि यान्त्रिकीकरणको विकासका लागि प्राविधिक ज्ञान र व्यावसायिक क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताए।
उनले यस सहकार्यबाट कृषि इन्जिनियरिङका नवस्नातकलाई व्यावहारिक ज्ञान तथा अनुभव हासिल गर्ने अवसर मिल्नुका साथै कृषि यान्त्रिकीकरणको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नामियाका अध्यक्ष शर्माले कृषि यान्त्रिकीकरणलाई प्रभावकारी र व्यवस्थित बनाउन प्राविधिक तथा व्यवसायी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए।
उनले अनुसन्धान, तालिम र प्राविधिक ज्ञानको आदानप्रदानमार्फत कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउन तथा किसानको उत्पादन लागत घटाउँदै उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।
दुवै संस्थाबीचको यस सहकार्यले नेपालको कृषि यान्त्रिकीकरण क्षेत्रको आधुनिकीकरणसँगै दक्ष जनशक्ति विकास गर्न र कृषि क्षेत्रसँग सम्बन्धित व्यवसायी तथा शैक्षिक क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाल कृषि इन्जिनियर्स सोसाइटी कृषि इन्जिनियरिङ क्षेत्रको व्यावसायिक संस्था हो, जसले कृषि इन्जिनियरहरूको व्यावसायिक क्षमता, प्राविधिक ज्ञान, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै आएको छ। सन् १९९० मा स्थापना भएको सोसाइटीले कृषि इन्जिनियरिङलाई आधुनिक कृषिको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न, इन्जिनियरहरूको पेशागत अधिकार र क्षमता अभिवृद्धि गर्न तथा सरकार, शैक्षिक संस्था र निजी क्षेत्रसँग सहकार्य गरी कृषि विकासमा प्राविधिक योगदान पुर्याउने उद्देश्य राखेको छ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) कृषि यान्त्रिकीकरण तथा कृषि मेशिनरी व्यवसायसँग सम्बन्धित व्यवसायीहरूको छाता संस्था हो। वि.सं. २०७१ मा स्थापना भएको संघमा कृषि औजार तथा प्रविधिका उत्पादक, आयातकर्ता, वितरक, खुद्रा व्यवसायी र वर्कसप सञ्चालकसहित ४४० भन्दा बढी सदस्य आबद्ध छन्। संघले कृषि मेशिनरीको प्रयोग र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन, व्यवसायी तथा प्राविधिकको क्षमता विकास, तालिम सञ्चालन र कृषि यान्त्रिकीकरणसम्बन्धी नीतिगत सुधारका लागि सरकार तथा विकास साझेदारसँग सहकार्य गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्