विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको हिमपहरोमा निधन


काठमाडौं। नेपाली मूलका विश्वप्रसिद्ध पर्वतरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानी हिमालमा गएको हिमपहिरोमा परी दुःखद निधन भएको छ।
पाकिस्तानको कराकोरम पर्वतमालाअन्तर्गत रहेको ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी निम्स दाईसहित टोलीका अन्य सदस्यहरूको मृत्यु भएको उनको एक्सपिडिसन कम्पनी ‘एलाइट एक्स्पेड’ले आधिकारिक पुष्टि गरेको हो।

एलाइट एक्स्पेडले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ, “अत्यन्तै गहिरो दुःख र हृदयविदारक पीडासहित हामी यो पुष्टि गर्दछौँ कि निर्मल ‘निम्सदाई’ पुर्जा ब्रोड पिकको हिमपहिरोमा परी निधन भएको छ। टोलीका अन्य सदस्यहरूलाई पनि बचाउन सकिएन। संसारले साहस, विनम्रता र अद्भूत क्षमताका धनी एक महान् पर्वतारोही तथा लाखौँका प्रेरणास्रोत गुमाएको छ।”

२०८३ साउन १५ गते बिहान करिब ९ बजे ब्रोड पिकको ‘वेस्टर्न रिज’ मार्गस्थित ६,६०० मिटरको उचाइ (क्याम्प २ र क्याम्प ३ को बीच) मा भीषण हिमपहिरो गएको थियो। निम्सदाईको नेतृत्वमा रहेको करिब १० जनाको अन्तर्राष्ट्रिय टोली आरोहणका क्रममा माथितर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको हो। जीपीएस ट्र्याकरहरूले एक्कासि तीव्र गतिमा उचाइ घटेको देखाएपछि हिमपहिरोमा परेको आशङ्का गरिएको थियो।

पाकिस्तान अल्पाइन क्लब र पाकिस्तानी सेनाको सहयोगमा उद्धार कार्य थालिए पनि खराब मौसमका कारण हेलिकोप्टर उडान प्रभावित भएको थियो। त्यसपछि ड्रोन र स्थल टोली परिचालन गरियो।

उद्धार टोलीले सुरुमा चार जनाको शव फेला पारेको थियो, जसमा नेपाली गाइड पुरबहादुर गुरुङ ‘युक्ता’, ओमानकी पहिलो महिला एभरेस्ट आरोही नधिरा अल हर्थी र अमेरिकी आरोही म्यालोरी गेइस रहेका थिए। पछि निम्सदाई र उहाँका पछाडि रहेका विश्वासपात्र गाइड निमा शेर्पालगायत अन्य सदस्यहरूको पनि निधन भएको पुष्टि भयो।

निर्मल पुर्जाको जन्म २०४० साउन ९ गते म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित दाना गाउँमा भएको थियो। धौलागिरि हिमालको काखमा जन्मिएका पुर्जा चार वर्षको उमेरमा परिवारसँगै चितवन बसाइँ सरेका थिए। गोरखा सैनिक बुबा र कृषक आमाका सन्तान निम्सदाईले बाल्यकालमा चरम आर्थिक अभाव भोग्नुपरेको थियो।

२०६० साल (सन् २००३) मा १८ वर्षको उमेरमा पुर्जा ब्रिटिस आर्मीको ‘ब्रिगेड अफ गोर्खाज’मा भर्ती भएका थिए। छ वर्ष गोरखा रेजिमेन्टमा सेवा गरेपछि २०६६ (सन् २००९) मा उनीबेलायती जलसेनाको महाविशिष्ट युनिट ‘स्पेशल बोट सर्भिस’ (एसबीएस) मा छनोट हुने पहिलो नेपाली बनेका थिए।
१६ वर्ष लामो सैन्य सेवाका क्रममा विभिन्न युद्ध मैदानमा अद्भूत साहस देखाएका पुर्जाले सन् २०१८ मा लान्स कर्पोरेल पदबाट राजीनामा दिई पूर्णकालीन पर्वतारोहणमा लाग्ने निर्णय गरेका थिए। उच्च उचाइको पर्वतारोहणमा पुर्‍यएको योगदानको कदर गर्दै बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले एमबीई’ उपाधिबाट विभूषित गरेकी थिइन।

२०७६ वैशाख १० (सन् २०१९ अप्रिल २३) मा अन्नपूर्ण हिमालबाट सुरु गरी २०७६ कात्तिक १२ (सन् २०१९ अक्टोबर २९) मा तिब्बतको शिसापाङ्मा आरोहण गर्दै उनले मात्र ६ महिना ६ दिनमा संसारका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल चढेर विश्वकीर्तिमान कायम गरेका थिए । यसअघि यो कीर्तिमान करिब आठ वर्षको थियो। यो कीर्तिमानी यात्रामा आधारित रहेर नेटफ्लिक्सले ‘१४ पिक्स: नथिङ इज इम्पसिबल’ नामक लोकप्रिय वृत्तचित्र पनि बनाएको छ।