तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारवाही


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२ ८३ को चौथो त्रैमासमा ती ओटा वाणिज्य बैंकहरूलाई कारवाही गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्र बैंकबाट जारी बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीको व्यवस्था उल्लंघन गरेको जनाएको छ । राष्ट्र बैंकको निर्देशन पालना नगरेकोले अबदेखि सो विनियमावलीमा भएको व्यवस्था अनुसार समयमै बैंक खाता रोक्का राख्ने व्यवस्था गर्न राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई सचेत गराएको छ ।

कृषि विकास बैंकको विशेष स्थलगत निरीक्षणको क्रममा बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंक र कानून कार्यान्वयन गर्ने निकायले गरेको अनुरोधबमोजिम समयमै खाता रोक्का नगरी राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको उल्लेख गरिएको छ । बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ (प्रथम संशोधनसहित) मा भएका खाता रोक्कासम्बन्धी व्यवस्थाबमोजिम अनुरोध प्राप्त हुनासाथ खाता रोक्का÷फुकुवा गर्न कृषि विकास बैंकलाई राष्ट्र बैंकले सचेत गराएको हो ।

प्रभु बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा देखिएका गम्भीर प्रकृतिका कमजोरीहरु समयमै सुधार गर्न बैंक अग्रसर नभएकोले उक्त बैंकको सञ्चालक समितिलाई यस अघि सचेत गराएर समयमै सुधार गर्न सुधारको योजना तर्जुमा गरी लागू गर्न उक्त बैंकको सञ्चालक समितिलाई निर्देशन दिएको थियो ।

२०८१ चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा २०८२ मा गरिएको उक्त बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा समेत उल्लेखित कैफियतहरुमा अपेक्षित सुधार नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन समेत) को दफा १०० को उपदफा १ को खण्ड (ख) बमोजिम सुधारात्मक कदम चाल्नका लागि प्रभु बैंकको सञ्चालक समितिलाई कबुलियतनामा गराएको हो ।

यस्तै, प्रभु बैंकको विगतका समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनहरुमा कर्जाका सम्बन्धमा दिइएका अधिकांश निर्देशनहरु बैंकले पालना नगरी राष्ट्र बैंकबाट जारी भएका निर्देशनहरु पटक पटक उल्लंघन गरेको, बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार अघिल्लो निरीक्षण प्रतिवेदनमा उल्लिखित अधिकांश कैफियतहरु सुधार नगरेको, कर्जाहरुको वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र राष्ट्र बैंकमा पेश गरेको कर्जा सम्बन्धी विवरण बैंकको कोर बैकिङ्ग सिस्टमबाट प्राप्त हुनेकर्जा विवरण भन्दा फरक हुने गरी पेश गरेको उल्लेख गरिएको छ ।

बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन उल्लंघन गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसमेत) को दफा १०० उपदफा २(ग) बमोजिम ५ लाख रूपैँया नगद जरिवाना गरेको हो ।