काठमाण्डौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) केही जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनीहरूले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
प्रेस विज्ञप्ती जारी गर्दै हाल केही जलविद्युत आयोजनाहरूको साधारण सेयर (आइपिअाे) निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि कतिपय प्रवद्र्धक कम्पनीहरूले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति इप्पानकाे ध्यानाकर्षण भएको जनाएकाे हाे ।
यस सम्बन्धमा इप्पानकोे जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयबासीलाई उपलब्ध गराइने सेयर अङ्कित मूल्य अर्थात् प्रति कित्ता रू. १०० मै उपलब्ध गराइनुपर्छ भन्ने धारणा रहेको उल्लेख गरेकाे छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ मा स्थानीयहरू लाभान्वित हुन भन्ने उद्देश्यले १० प्रतिशत सेयर दिने गरी कानुनी प्रबन्ध गरिएकोले सोही अनुसार गर्न आफ्ना सदस्यहरूलाई इप्पानले अनुराेध गरेकाे छ ।
“जलविद्युत आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान पनि हो । आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने, निर्माण अवधिका असुविधा व्यहोर्ने र आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई आयोजना स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयबासीका लागि सेयरको व्यवस्था गरिएको हो । यदि त्यही सेयर प्रिमियम मूल्यमा निष्काशन गरियो भने स्थानीय समुदायको पहुँच सीमित हुने, उनीहरूमा अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबीच वर्षौंदेखि निर्माण हुँदै आएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने इप्पानको ठहर छ,” विज्ञप्तीमा भनिएकाे छ ।
स्थानीयबासीलाई अङ्कित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, आयोजनाप्रति स्वामित्व र अपनत्वको भावना अभिवृद्धि हुने, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोधहरू न्यून हुने, स्थानीय स्तरमा सहयोग र सहकार्य अझ सुदृढ हुने तथा जलविद्युत आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण निर्माण हुने विश्वास इप्पानकाे छ । यसले स्थानीय समुदायले आयोजनाबाट दीर्घकालीन लाभ प्राप्त गर्ने अवसरसमेत सुनिश्चित गर्दछ, जसबाट आर्थिक सशक्तीकरण, स्थानीय विकास तथा सामाजिक सद्भावलाई समेत टेवा पुग्ने विश्वास इप्पानकाे छ ।
इप्पान नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवद्र्धक कम्पनीहरूलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबिचको सुमधुर सम्बन्धलाई सर्वोपरि राख्दै स्थानीयबासीका लागि छुट्याइने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता रू. १०० मै उपलब्ध गराउने नीतिलाई निरन्तर कायम राख्न आग्रह गरेकाे छ ।
साथै, साधारण सेयर निष्काशनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाई जलविद्युत क्षेत्रको लगानी वातावरणलाई थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकाे छ। सेयर निकाष्शनमा भएको ढिलाईको कारण जलविद्युत आयोजनाहरुले भोगिरहेका समस्या समाधानका लागि समेत समयमै सेयर निष्काशन गर्ने परिपाटीको विकासका लागि नेपाल सरकार र यससँग सम्बन्धित निकायहरुलाई पनि विशेष आग्रह गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्