महिला र वृद्धवृद्धालाई निशाना बनाएर लुटपाट गर्ने ‘कर्मा समूह’ पक्राउ


काठमाडाैँ । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा चोरी तथा लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लुटपाट गर्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरी आइतबार सार्वजानिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेकाअनुसार पक्राउ पर्नेमा गिरोहका मुख्य नाइके सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङसहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरुङ छन् ।

प्रहरीले अनुसन्धानका क्रममा उनीहरूलाई बनेपासहित विभिन्न स्थानबाट पक्राउ गरिएको हो । मुख्य अभियुक्त कर्मा तामाङ, प्रतिमान र पासाङ यसअघि पनि चोरी तथा डाँका सम्बन्धी मुद्दामा पक्राउ परेको व्यक्ति रहेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए।

कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो । बुढानीलकण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर र एक राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको प्रहरी प्रमुख घिमिरेले बताए ।

प्रहरीको गोली लागेर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कर्मा समूहले उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनको सिक्री लुट्ने गरेको एसएसपी घिमिरेले जानकारी दिए। उनकाअनुसार उक्त गिरोहले विशेषगरी बिहान वा साँझ एक्लै हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई निशाना बनाउने गरेको थियो ।

उनीहरूले शुरुमा बाटो सोध्ने बहानामा संवाद गर्ने र त्यसलगत्तै मोटरसाइकलबाट आएर लछारपछार गर्दै घाँटीमा लगाएका सुनका सिक्री तथा नगद लुट्ने शैली अपनाएको अनुसन्धानबाट खुलेको छ ।

घटनापछि प्रयोग गरिएको पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्ने, केही दिन काठमाडौँमा लगातार अपराध गरेर १०–१५ दिन अन्यत्र लुक्ने रणनीति अपनाउने गरेको अनुसन्धानको क्रममा पाइएको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए । घिमिरेकाअनुसार हालसम्म काठमाडौँ र काभ्रेमा भएका कम्तीमा चार वटा सिक्री लुटपाटका घटनामा कर्मा गिरोहको संलग्नता रहेको पाईएको छ ।

उनीहरुले काठमाडौँको शान्तिनगर, नरेफाँट, धुलिखेल–बनेपा र धापासीमा भएका लुटपाट गरेका थिए । पछिल्लोपटक यो समुहले साउन ७ गते धापासीमा ६६ वर्षीया वृद्धाको सिक्री लुटेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए । प्रमुख घिमिरेका अनुसार पक्राउ परेका प्रतिमान गोले लुटपाट गर्दा मोटरसाइकल चालकको भुमिकामा थिए भने पासाङ घिसिङले चोरीपछि मोटरसाइकलको व्यवस्थापन गर्ने गरेका थिए ।

आले गुरुङले लुटपाटका क्रममा प्रतिरोध भएमा ‘ब्याकअप’को भूमिका निर्वाह गर्ने र मनोज तामाङले लुटिएका सुन पगालेर स्वरूप परिवर्तन गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उक्त समुहले प्रयोग गर्ने मोटरसाइकल, विभिन्न नम्बर प्लेट, हेल्मेट, ज्याकेट, जुत्ता, सुन पगाल्न प्रयोग हुने सामग्री, मोटरसाइकलको ह्यान्डल लक तोड्ने औजार, खुकुरी तथा मोबाइल फोन बरामद गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।