सप्तरीको राजविराज र बोदेबर्साइनको निषेधाज्ञा पनि पूर्ण रूपमा हट्यो


सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचना अनुसार जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार निषेधाज्ञा हटाइएको हो।

प्रशासनका अनुसार सोमबार बिहान १० बजेदेखि राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू रहेको निषेधाज्ञा पूर्ण रूपमा हटाइएको छ।प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा हस्ताक्षरित सूचनामा निषेधाज्ञा हटाइएको जानकारी सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरिएको उल्लेख छ।

यसअघि आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजसहित जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्‍याली आयोजना गरिएको थियो। उक्त र्‍यालीमा विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रशासनले जिल्लाको शान्ति–सुरक्षाको अवस्था हाल सामान्य रहेको जनाएको छ। साथै सबैलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने वा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ।