काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत नाम्सी पुल क्षेत्रमा पहिरो खसेपछि केही समय एकतर्फी अवरुद्ध बनेको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
सोमबार दिउँसो १ बजे नाम्सी पुल क्षेत्रमा खसेको पहिरो सडक डिभिजनको उपकरणमार्फत हटाइएपछि सडक पुनः दुवैतर्फ सञ्चालनमा आएको हो।
यसअघि सोमबार बिहान ८ :२५ बजे तुईन खोला पुल, नाम्सी खोलाको नयाँ पुल क्षेत्रमा माथिबाट ढुंगा खसेको तथा सिमलतालमा माथिबाट लेदो बगेर सडकमा आएपछि सडक एकतर्फी अवरुद्ध भएको थियो। त्यसलगत्तै सडक डिभिजनले पहिरो हटाउन उपकरण परिचालन गरेको थियो।
हाल सडक सञ्चालनमा आए पनि क्षेत्रमा वर्षा जारी रहेकाले पहिरोको जोखिम अझै कायम रहेको सम्बन्धित निकायले जनाएको छ। यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्