काठमाडाैँ । राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
बैठकको शुन्य समयमा बोल्दै सदस्यहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव, सीमा क्षेत्रमा देखिएका समस्या र न्यायको पर्खाइमा रहेका नागरिकका विषयमा सरकारको जवाफदेहिता खोजेका हुन् ।
सांसद कृष्णबहादुर रोकायाले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले नागरिकको जनजीवन कष्टकर बनेको बताउनु भयो । छिमेकी मुलुक भारतमा एलपी ग्यासको मूल्य घट्दा समेत नेपालमा आयल निगमले मूल्य नघटाएको र बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको उनको भनाइ छ ।
विशेषगरी रुकुम पश्चिममा होटल व्यवसायी र सर्वसाधारणले ग्यास अभावका कारण सास्ती खेप्नुपरेको भन्दै उहाँले तत्काल आपूर्ति सहज बनाउन माग गरे ।
सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले खाद्यान्नको भाउ आकाशिएको उल्लेख गर्दै सरकार नागरिकका आधारभूत समस्याप्रति संवेदनशील नभएको आरोप लगाए ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा विषादीयुक्त र मिसावटजन्य खाद्य सामग्रीको बिक्री वितरण भइरहेको भन्दै प्रभावकारी बजार अनुगमन र गुणस्तर नियन्त्रणका लागि जनशक्ति बढाउन माग गरे।
सांसद पूजा चौधरीले नवलपरासीको सुस्तास्थित थारु टोलमा निर्माणाधीन अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको घटनाप्रति आपत्ति जनाइन् । सुस्ताको विषय राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएकाले यसलाई कुटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोज्न उनले आग्रह गरिन् ।
यस्तै, सांसद विष्णुबहादुर विश्वकर्माले लिपुलेक र लिम्पियाधुरामा छिमेकी मुलुकको हस्तक्षेप र सुस्तामा नेपाली नागरिकमाथि हुने दुव्र्यवहारको अन्त्यका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।
बैठकमा दलित समुदायको हकअधिकार र न्यायका लागि माइतीघरमा १०७ दिनदेखि सत्याग्रहमा बसेकी दीपा नेपालीसँग वार्ता गरी समस्या समाधान गर्न सांसद पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले माग गरे । निर्वाचनका बेला दलित समुदायसँग माफी मागेका दलहरू सरकारमा पुगेपछि उनीहरूको पीडाप्रति उदासीन बनेको उनीहरूको आरोप छ ।
सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको शङ्कास्पद मृत्युको विषय उठाउँदै दाइजोका कारण हुने हत्या र हिंसाका घटनामा निष्पक्ष छानबिन गर्न माग गरिन् । निर्मला पन्त प्रकरण जस्तै यो मुद्दा पनि न्यायविहीन नबनोस् भन्दै उहाँले सरकारलाई सचेत गराइन् ।
सांसद विष्णुदेवी पुडासैनीले १० वर्षसम्म निष्क्रिय रहेका बैंक खाताको रकम सरकारी खातामा ल्याउने तयारी अमानवीय भएको टिप्पणी गरिन् । त्यस्तो रकमलाई २० वर्षको समय दिएर स्वास्थ्य सेवामा खर्च गर्ने व्यवस्था मिलाउन उनको सुझाव थियो । उनले बिजुलीमा लगाइएको भ्याट र यातायात मजदुरमाथि हुने चर्को जरिवानाप्रति पनि असन्तुष्टि व्यक्त गरिन् ।
बैठकमा सांसद पूजा चौधरीले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहित नेपाली र विदेशी नागरिकको निधन भएको खबरले मुलुक स्तब्ध भएको बताउँदै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् ।


प्रतिक्रिया दिनुहोस्