राष्ट्रिय सभामा महँगी र एलपी ग्यास अभावबारे सरकारको ध्यानाकर्षण


काठमाडाैँ । राष्ट्रिय सभामा सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनीहरूले बजारमा उपभोक्ताले महँगो मूल्य तिर्दा पनि आवश्यक वस्तु सहज रूपमा नपाइरहेको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन् ।

सांसद कृष्णबहादुर रोकायले खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको र बजारमा आवश्यक सामग्रीको अभाव देखिएको बताए । भारतमा एलपी ग्यासको मूल्य पटक–पटक घटेपनि नेपालमा नेपाल आयल निगमले घाटाको कारण देखाउँदै मूल्य नघटाएको उनको आरोप छ ।

उनले रुकुम पश्चिमसहित विभिन्न जिल्लामा एलपी ग्यास अभावका कारण स्थानीय नागरिक र होटल व्यवसायी समस्यामा परेको भन्दै प्रभावित क्षेत्रमा तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले भने, “जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धिले आकाश छोएको छ भने अर्कोतिर चर्को मूल्यका बाबजुद सामानहरु बजारमा सहज रुपमा नागरिकले प्राप्त गर्न सकिरहेका छैनन् । छिमेकी देश भारतमा एलपी ग्याँस सिलिन्डरको मूल्य पटक पटक घट्दा समेत नेपालमा भने एलपी ग्याँसमा घाटा भएको भन्दै नेपाल आयल निगमले ग्याँसको मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन् । अर्कोतिर राजधानी सहित बाहिरी जिल्लामा पर्याप्त रुपमा ग्याँस सिलिण्डर प्राप्त नहुँदा नागरिकहरुले सास्ती व्यहोरिरहेका छन् । केही दिन देखि रुकुम पश्चिम जिल्लामा एलपी ग्याँसको अभाव हुँदा त्यहाँका नागरिक र होटल व्यवसायीहरु पीडित भएका छन् । एलपी ग्याँस लगायत दैनिक उपभोग्य वस्तुहरुको समेत मूल्य घटाउन र अभाव भएका रुकुम लगायत अन्य जिल्लाहरुमा यथाशीघ्र आवश्यक पर्ने ग्याँस आपूर्तिको सहज व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।”

सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा महँगीले नागरिकको भान्सा प्रभावित भएको बताइन् । पेट्रोलियम पदार्थको पछिल्लो मूल्यवृद्धिले खाद्यान्न, चामल, दाल, तरकारी, मासु, चिनी र फलफूललगायतका वस्तुको मूल्य थप बढ्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । ग्यासको मूल्य यथावत रहेको भनिएपनि उपभोक्ताले सहज रूपमा प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले नागरिकका अत्यावश्यक आवश्यकताप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्।

उनले भनिन्, “हाम्रा चाडपर्वहरुको आगमनसँगसँगै नेपाली नागरिकहरुको भान्सा र चुल्होमा महंगीको चापले ठूलो असर पार्न थालेको छ । साँझ बिहानको छाक पनि धौधौ हुँदैछ, गएराति १२ बजेदेखि पेट्रोलियम पदार्थमा पुनः मूल्य वृद्धि भएको छ, जसका कारण सबै प्रकारका खाद्यान्न, चामल, दाल, तरकारी, मासु, चिनी, फलफूलहरुको मूल्य पनि वृद्धि भएको छ । ग्याँसको मूल्य यथावत भनिएता पनि नागरिकले सहज रुपमा पाएका छैनन् । सरकारले नागरिकका अत्यावश्यक दैनिकी प्रति चासो देखाएको पाइँदैन, सरकार गम्भीर छैन । चाडबाडको मुखमा विकल्प खोजेर भए पनि नागरिकको नैसर्गिक अधिकार प्रति सरकारको गम्भीर ध्यान केन्द्रित होस् भन्ने कुरामा सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।”

सांसद श्रीकृष्णप्रसाद अधिकारीले पनि बजारमा एलपी ग्यास अभावसँगै तरकारी, फलफूल र अन्य खाद्यवस्तुको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवन कठिन बनेको बताए । उनले खाद्यवस्तुमा विषादी र अखाद्य पदार्थको मिसावटका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन गुणस्तर विभागको क्षमता र जनशक्ति विस्तार गर्न सरकारसँग माग गरे ।

उनले भने, “बजारमा ग्याँसको अभाव बढेको छ । तरकारी फलफूल लगायतका खाद्यजन्य पदार्थमा बढ्दै गएको मूल्य वृद्धिले सर्वसाधारण जनताको भान्सा चल्न कठिन भइरहेको छ। तरकारी, फलफूल, दुग्धजन्य लगायतका खाद्य पदार्थहरुमा वस्तुमा विषादीजन्य र अखाद्य वस्तु मिसावटबाट नसर्ने रोगको वृद्धि भई दिनानुदिन जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ। बढ्दो महंगी नियन्त्रण, बजार भाउ घटाउन र गुणस्तर विभागको क्षमता र जनशक्ति बढाएर बजार अनुगमनलाई अनिवार्य र प्रभावकारी बनाउन म सरकारसँग माग गर्दछु ।”

सांसदहरूले बढ्दो महँगी नियन्त्रण, एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार असफल भएको बताएका छन् ।