काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ?


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रकाशमानसिंह कार्कीले बजारमा भएको एलपी ग्यासको तथ्यांक नै सरकारसँग नरहेको आरोप लगाएका छन् । 

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । सांसद कार्कीले २३ लाख सिलिन्डर कहाँ गए भन्ने विषयमा सरकारसँग विश्वसनीय तथ्यांक नै नरहेको उल्लेख गरे ।

२३ लाख रिफिल हुनुपर्ने ग्यास सिलिण्डर कहाँ छ ? उनको प्रश्न छ । उनले बजार अनुगमन गर्न नियामक निकाय चुकिरहेको बताए । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति भइरहेको दाबी गरेपनि उपभोक्ता भने अझै लाइनमा बस्न बाध्य रहेको उनकाे भनाइ छ ।

उनले निगमले टेकुबाट मात्रै ग्यास वितरण गरेको उल्लेख गर्दै सबै डिपोबाट ग्यास वितरण गर्न आग्रह गरे । सांसद कार्कीले वितरण प्रणालीलाई सुधार गर्न पनि आग्रह गरे । यसअगाडी समितिको बैठकमा निगमले नै एक साताभित्र समस्या समाधान हुने आश्वासन दिएपनि १९ दिन बितिसक्दा समेत अवस्था नफेरिएको उनको आरोप छ ।

उनले नेपालमा पेट्रोलियम क्षेत्र सञ्चालनका लागि कानून निर्माणमा जोड दिए । हालसम्म पनि उक्त कानुन नबन्नु गम्भीर विषय रहेको उल्लेख गर्दै उहाँले कानुनी आधारबिना कसैलाई कारबाही गर्न नसकिने बताए । 

दशैँ–तिहार नजिकिँदै गएको अवस्थामा ग्यास आपूर्ति समस्या समाधान नभएमा थप संकट उत्पन्न हुन सक्ने उनले चेतावनी दिए । सांसद कार्कीले बजार अनुगमन प्रभावकारी बनाउन पनि सरकारसँग माग गरे । उनले सेटिङका आधारमा नभई उपभोक्ताको हितलाई केन्द्रमा राखेर अनुगमन गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।