नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य


काठमाडाैँ । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि मंगलबार भएको दफावार छलफलमा सञ्चालक समितिको संरचनाका विषयमा सहमति जुटेको छ । 

विधेयकको दफा १० मा केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताए ।

जसअनुसार बैंकमा दुई जना डेपुटी गभर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने सञ्चालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ । 

सञ्चालक समितिमा रहने तीन जना स्वतन्त्र सञ्चालकहरूमध्ये कम्तिमा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ । मंगलबारको बैठकले सञ्चालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ बनाउने उद्देश्यका साथ यी प्रावधानहरूमा सहमति कायम गरेको हो ।