काठमाडाैँ । नेकपा एमालेका सांसद कृपाराम रानाले दैलेखको ग्यास खानी उत्खनन गर्ने ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन् ।
मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले ग्यास दीगो व्यवस्थापनको लागि दैलेखको ग्यास खानी संचालनमा ल्याउनुपर्ने बताएका हुन् ।
उनले ग्यास अभाव भएको वर्तमान अवस्थामा दैलेखको ग्यास खानीले गिज्याइरहेको बताए । झन्डै ११२ अर्ब घनमिटर ग्यास रहेको उल्लेख गर्दै उनले उक्त खानी सञ्चालनमा ल्याउनसके ६० वर्षको लागि पुग्ने उल्लेख गरे ।
उनले हाल सरकारले ग्यासको आपूर्ति व्यवस्थापन र बजार अनुगमन प्रभावकारी बनाउन नसक्दा बजारमा अभाव सिर्जना भएको बताए । उनले नेपाल आयल निगमले समस्या समाधानभन्दा पनि सूचना जारी गर्ने काममै सिमित रहेको आरोप लगाए ।
ग्यास अभाव आफूले पनि प्रत्यक्ष भोगिरहेको उल्लेख गर्दै उनले उपभोक्ताको भान्सासम्म ग्यास पुगेको छ कि छैन भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
रानाले मासिक करिव ४७ हजार मेट्रिक टन ग्यास आवश्यक रहेमा ६० हजार मेट्रिक टन आपूर्ति भएको बाँकी १३ हजार मेट्रिक टन ग्यास कहाँ गयो ? भन्ने प्रश्न गरे। बजार अनुगमन र ट्रयाकिङ प्रणाली कमजोर हुँदा कृत्रिम अभाव सिर्जना भएको हुनसक्ने उनको भनाइ छ ।
उनले ग्यास अभावबारे पटक–पटक छलफल भएपनि समस्या समाधान हुन नसकेको टिप्पणी गरे । १५ दिनका लागि भनिएको आधा सिलिण्डर वितरण व्यवस्था चार महिनासम्म लम्बिएको र अहिले फेरि कृत्रिम अभाव देखिएको उनको भनाइ थियो ।
सांसद रानाले दीर्घकालीन ऊर्जा सुरक्षाका लागि वैकल्पिक स्रोतमा लगानी गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।


प्रतिक्रिया दिनुहोस्