उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले ग्यास अभाव नभएपछि वितरण प्रणालीमा देखिएको समस्यका कारण अभाव देखिएको बताएका छन् । 

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उनले बताए । पूर्ण १४ केजीको ग्यास वितरण गर्न थालेपछि बजारमा एक्सासी सिलिण्डर आउँदा वितरण प्रणालीमा चाप बढेको उनको भनाइ छ ।

उनले पछिल्लो तीन महिनामा २३ लाख सिलिण्डर रिफिल नभएको बताए । तीन महिनाको तथ्यांक विश्लेषण गर्दा कम्तीमा ७० लाख सिलिण्डर बजारमा आउनुपर्नेमा ५४ लाख सिलिण्डर मात्रै रिफिल भएर वितरण भएको उनले जानकारी दिए । आधा सिलिन्डरबाट पूर्ण सिलिण्डर वितरण गर्न थालेपछि एकैपटक ठूलो संख्यामा सिलिण्डर बजारमा आउँदा माग अस्वाभाविक रूपमा बढेको उनको दाबी छ ।

यसअघि मासिक ४६–४७ हजार मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग रहेकोमा हाल बढेर करिव ६० हजार मेट्रिक टन पुगेको उनले बताए । उनले इन्डियन आयल कर्पोरेसनसँग कम्तीमा एकदेखि डेढ महिनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिए । उनकाअनुसार हाल ६० हजार मेट्रिक टनको पूर्ण आपूर्ति नभएपनि करिब ५० हजार मेट्रिक टन ग्यास आपूर्ति गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

साउन १९ गतेसम्म ३१ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको उल्लेख गर्दै उनले अझै केही समय ग्यास अपुग नै रहने बताए । उनकाअनुसार ४१ जिल्लामा ग्यासको धेरै समस्या नरहेको भएपनि २८ जिल्लामा केही समस्या देखिएको र करिव आठ जिल्लामा विशेष व्यवस्थापन तथा निगरानी आवश्यक रहेको बताए ।