कृषि विकास बैंकको नाफा घट्यो


काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को खुद नाफा २९.५२ प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रूपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रूपैयाँ मात्र कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख ८ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ४४ करोड ७४ लाख ६७ हजार रूपैयाँ रहेको थियो।

बैंकको कुल वितरणयोग्य मुनाफा एक अर्ब २६ करोड २१ लाख ८६ हजार रूपैयाँ कायम भएको छ । यो अघिल्लो आर्थिक वर्ष २ अर्ब ८१ करोड ६६ लाख ६९ हजार रूपैयाँ रहेको थियो।

बैंकको प्रतिसेयर आम्दानी (इपिएस) २४.५९ रूपैयाँबाट घटेर १६.११ रूपैयाँमा झरेको छ। बैंकको खराब कर्जा (एनपीएल) ४.०७ प्रतिशत पुगेको छ। बैंकको पुँजी कोष अनुपात १३.२९ प्रतिशत रहेको छ। १९ अर्ब ७३ करोड ८२ लाख ३१ हजार रूपैयाँ चुक्ता पुँजी रहेको छ ।

गत आर्थिक वर्ष बैंकले ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख ६९ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख २३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ।