काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डे तथा अन्य सञ्चालकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बैंकका अध्यक्ष पाण्डेसहित सञ्चालकहरू प्रजन्य राजभण्डारी, कवि कुमार टिवरेवाल, दीपांकर शाक्य उदय, शालिकराम बेलबासे तथा शोभा श्रेष्ठलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सञ्चालकहरूको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले दायर गरेको रिटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ऋणी स्मार्ट टेलिकम प्रालिको धितो लिलाम प्रक्रियासम्बन्धी विषयमा अनुसन्धानका क्रममा अध्यक्षसहित सञ्चालकहरूलाई पक्राउ गर्ने तयारी गरिएको भन्दै रोक लगाउन माग गरिएको थियो ।
अदालतले मुद्दासँग सम्बन्धित पक्षहरूको बहस सुनेपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन अन्तर्गत बैंक सञ्चालकहरूको जिम्मेवारी, व्यक्तिगत स्वतन्त्रताको संरक्षण तथा अनुसन्धानको आवश्यकता जस्ता संवेदनशील विषय रहेको उल्लेख गरेको छ ।
आदेशमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा थप छलफल आवश्यक देखिएकाले दुवै पक्षलाई साउन २५ गते बोलाइएको छ । साथै उक्त अवधिसम्म निवेदकहरूलाई अनुसन्धान प्रयोजनका लागि पक्राउ नगर्न तथा नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरिएको उल्लेख छ ।
यस आदेशसँगै स्मार्ट टेलिकमको धितो लिलाम प्रक्रियासँग सम्बन्धित विवादमा अनुसन्धान जारी रहे पनि बैंकका अध्यक्ष तथा सञ्चालकहरूलाई तत्काल पक्राउ गर्ने कार्य भने रोकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ पुर्जी लिएपछि बैंकका सञ्चालकहरू सर्वोच्च पुगेका थिए ।




प्रतिक्रिया दिनुहोस्