‘गरिमा सुवर्ण योजना’को अनलाइन कारोबार प्रणाली सञ्चालनमा, घरमै बसेर सेवा लिन सकिने


काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्नो खुलामुखी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित‘गरिमा सुवर्ण योजना’ का इकाईहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई सहज, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ ।

गरिमा विकास बैंक लिमिटेडको प्रवर्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त योजनामा अब लगानीकर्ताले अनलाइन माध्यमबाट नै विभिन्न सेवा लिन सक्नेछन् ।

नयाँ प्रणालीमार्फत एकमुष्ट लगानी (लम्पसम) आवेदन तथा भुक्तानी, व्यवस्थित लगानी योजना (एसआइपी) दर्ता, एसआइपी किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजना (ड्रिप) दर्ता, प्रोफाइल व्यवस्थापन तथा इकाई पुनर्खरिदजस्ता सेवाहरू उपलब्ध हुनेछन्।

कम्पनीका अनुसार डिजिटल प्रविधिको प्रयोगमार्फत लगानी प्रक्रियालाई थप सरल, छरितो र पारदर्शी बनाउने लक्ष्य राखिएको छ । साथै, भविष्यमा थप अनलाइन सुविधाहरू पनि क्रमशः विस्तार गरिँदै लगिने जनाइएको छ ।

लगानीकर्ताले https://gsym.garimacapital.com मार्फत योजना सम्बन्धी दर्ता तथा कारोबार गर्न सक्नेछन् । यस्तै, गरिमा क्यापिटल र गरिमा विकास बैंकको आधिकारिक वेबसाइटमार्फत पनि उक्त प्रणालीमा पहुँच प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले अनलाइन सेवासँगै देशभर रहेका गरिमा विकास बैंकका शाखा कार्यालय तथा कमलपोखरीस्थित गरिमा क्यापिटलको कार्यालयबाट पनि योजना सम्बन्धी सेवा उपलब्ध रहने जनाएको छ ।

गरिमा क्यापिटलले लगानीकर्तालाई योजनामा लगानी गर्नुअघि स्वीकृत विवरणपत्र अध्ययन गर्न आग्रहसमेत गरेको छ । कम्पनीका अनुसार इकाई खरिद तथा बिक्री सम्बन्धी कारोबार तोकिएको कट–अफ समयअनुसार निर्धारण हुने खुद सम्पत्ति मूल्य (एनएभी) का आधारमा सम्पन्न हुनेछ ।

सामूहिक लगानी कोषमा गरिने लगानी बजार जोखिमसँग सम्बन्धित हुने भएकाले लगानी निर्णय गर्दा आवश्यक अध्ययन र सावधानी अपनाउन पनि कम्पनीले अनुरोध गरेको छ ।