कोलम्बिया भूकम्पः मृतकको सङ्ख्या १८८ पुग्यो, उद्धार र राहत कार्य जारी


कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार यस विपदमा परी अन्य एक हजार ६७७ जना घाइते भएका छन् ।

प्राप्त विवरणअनुसार क्याली शहरमा ९५ जनाको मृत्यु भएको छ भने ९९७ जना घाइते भएका छन् । त्यसैगरी परेरा शहरमा ७९ जनाको ज्यान गएको र २७८ जना घाइते भएको तथ्याङ्क छ ।

एसोक्यापिटल्सकाअनुसार प्रभावित क्षेत्रहरूमा उद्धार तथा क्षतिको मूल्याङ्कन गर्ने कार्य निरन्तर भइरहेको छ । संस्थाले बेपत्ता भएका व्यक्तिहरूको खोजी र उनीहरूको सूचना सङ्कलनका लागि एक विशेष रिपोर्टिङ प्रणाली समेत शुरु गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूकम्पमा परी भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मंगलबार महासचिवका उपप्रवक्ता फरहान हकद्वारा जारी विज्ञप्तिअनुसार महासचिव गुटेरेसले भूकम्पमा परी १६० भन्दा बढी व्यक्तिको मृत्यु भएको र ठूलो संख्यामा मानिसहरू घाइते भएको खबरले आफू मर्माहत भएको बताएका हुन् ।

महासचिवले कोलम्बिया सरकार र त्यहाँका जनताप्रति ऐक्यवद्धता प्रकट गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । भूकम्पका कारण ठूलो संख्यामा घरहरू भत्किएको र भौतिक संरचनामा क्षति पुगेको विवरणहरू सार्वजनिक भइरहेका छन् ।

हाल स्थानीय अधिकारीहरूले भूकम्पबाट भएको क्षतिको पूर्ण मूल्याङ्कन गरिरहेका छन् । यसैबीच, संयुक्त राष्ट्रसंघले कोलम्बियाली अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको र राहत तथा उद्धार कार्यमा सरकारको आवश्यकता अनुसार सहयोग गर्न राष्ट्रसंघ तयार रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।