काठमाडौँ । पूर्णरूपमा विद्युतीय कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको घोषणा गरेको छ।
नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक एचआइपिसिओ ट्रेडिंग प्रा। लि। मार्फत नेपाल प्रवेश गरेको हो। काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री–ह्विलर सुपर अटो सार्वजनिक गरे । यससँगै नेपालमा मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको औपचारिक सुरुवात भएको छ।
मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको इन्जिनियरिङ विकास नेपालका सडक तथा भूभागमा गरिएको परीक्षण, स्थानीय वितरकबाट प्राप्त सुझाव तथा नेपालको सडक र भूगोलका मौलिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको जनाएको छ। यसले सुपर अटोलाई नेपाली बजारकै लागि भनेर विशेष रूपमा तयार गरिएको इलेक्ट्रिक सवारीसाधनका रूपमा प्रस्तुत गरेको छ।
कम सञ्चालन खर्च, कम मर्मतसम्भार खर्च तथा इन्धनको मूल्यमा हुने उतारचढावको प्रभावबाट मुक्त हुन पाउनु यसका प्रमुख फाइदा हुन्।
देशभरका थ्री–ह्विलर सञ्चालकका लागि यी फाइदाले उल्लेखनीय आर्थिक प्रभाव पार्ने कम्पनीको दाबी छ ।
सुपर अटो सार्वजनिक कार्यक्रममा बोल्दै एचआइपिसिओ ट्रेडिंग प्रा. लि. का निर्देशक हिमांशु गोल्छाले भने,“नेपालका सडकहरू देशको आर्थिक विकासका मेरुदण्ड हुन्। लामो समयदेखि हामीले हाम्रो आर्थिक विकासको मूल्य ठुलो इन्धन आयात खर्चका रूपमा चुकाउँदै आएका छौं। सुपर अटोको आगमन आयातित इन्धनमा निर्भरता र प्रदूषण घटाउने यात्रातर्फको पहिलो कदम हो। देशभर इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्दै जाँदा यस्ता साझेदारीले नेपालको यातायात क्षेत्रलाई नेपाली जनताको आकांक्षासँगै अघि बढ्न सहयोग गर्नेछ।”
मोन्ट्रा इलेक्ट्रिक (आइटी) क्लिन मोबिलिटी प्रा. लि. का अध्यक्ष अरुण मुरुगप्पनले भने, “मोन्ट्रा इलेक्ट्रिकको सुपर अटो नेपाल प्रवेशले इन्जिनियरिङ उत्कृष्टताको प्रयोग वास्तविक र स्थानीय आवश्यकतामा आधारित हुनुपर्छ भन्ने हाम्रो लामो समयदेखिको विश्वासलाई प्रतिबिम्बित गर्छ। भारतीय इन्जिनियरिङले हाम्रा छिमेकी अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण योगदान गर्न सक्छ भन्ने उदाहरणका रूपमा पनि हामीले यसलाई हेरेका छौं।”


प्रतिक्रिया दिनुहोस्