आर्थिक वर्ष २०८२/८३ मा २.५६ खर्ब रूपैयाँ बीमाशुल्क सङ्कलन, सात प्रतिशतले बढ्यो दाबी भुक्तानी


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नेपालमा बीमाको पहुँच विस्तार हुँदै गएको देखिएको छ ।

जीवन तथा लघुजीवन बीमा कम्पनीहरूले जारी गर्ने बिमालेखसँगै निर्जीवन तथा लघु निर्जीवन बीमातर्फका बीमालेख पनि बढेका छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार बीमा क्षेत्रबाट असार मसान्तसम्म जीवन र लघुजीवन बीमा कम्पनीहरूले ७९ लाख ५३ हजार ३२ वटा बीमालेख जारी गरेका छन्।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.८६ प्रतिशतले बढी हो। यस्तै, निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले ३४ लाख ६७ हजार १६७ वटा बीमा लेख जारी गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६.८७ प्रतिशत वृद्धि हो।

यस अवधिमा सक्रिय जीवन बीमा लेखको सङ्ख्या १ करोड ६७ लाख ९२ हजार २३० पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा सक्रिय जीवन बीमालेख ७.४३ प्रतिशतले बढेको हो ।

साढे दुई खर्ब बढि बिमाशुल्क सङ्कलन

गत वर्ष बीमा व्यवसाय विस्तारसँगै बीमा शुल्क सङ्कलनमा पनि वृद्धि भएको देखिन्छ । २०८३ असार मसान्तसम्म बिमा कम्पनीहरूले कुल २ खर्ब ५६ अर्ब ५१ करोड ९५ लाख रुपैयाँ बिमााशुल्क संकलन गरेका छन्।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९१ प्रतिशत बढी हो।

कुल बीमा शुल्कमध्ये जीवन तथा लघुजीवन बिमा कम्पनीले २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ सङ्कलन गरेका छन्। उक्त रकम अघिल्लो वर्षको तुलनामा १२.२५ प्रतिशतले बढी हो।

निर्जीवन तथा लघु निर्जीवन बिमा कम्पनीले भने ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बिमााशुल्क संकलन गरेका छन्, जुन १५.६१ प्रतिशतको वृद्धि हो।

७ प्रतिशतले बढ्यो दावी भुक्तानी

बीमा व्यवसाय विस्तारसँगै दाबी भुक्तानी पनि बढेको छ । जीवन बिमा कम्पनीहरूले असार मसान्तसम्म ४ लाख १९ हजार १३६ वटा दाबीबापत ६९ अर्ब ६४ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत आर्थिक वर्षको तुलनामा दाबी संख्या ७.१६ प्रतिशत र भुक्तानी रकम ५.८३ प्रतिशतले बढेको छ ।

तथ्याङ्क अनुसार जीवन बिमातर्फ १ लाख ४४ हजार १४४ वटा दाबी अझै भुक्तानी हुन बाँकी छन्। ती दाबीअन्तर्गत ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

निर्जीवन बिमा कम्पनीहरूले भने असार मसान्तसम्म १ लाख ६४ हजार १०१ वटा दाबीबापत ३१ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत आर्थिक वर्षको तुलनामा दाबी संख्या ८.९४ प्रतिशत र भुक्तानी रकम २५.५७ प्रतिशतले बढेको छ।

निर्जीवन बिमाातर्फ पनि ठूलो रकमका दाबी भुक्तानी हुन बाँकी छ। कुल १ लाख ६ हजार २३७ वटा दाबीबापत ४१ अर्ब ३ करोड २६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।