रसुवा बाढीमा १२ जनाको उद्धार, १२ वटा हेलिकोप्टर परिचालन


काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र पारिएको छ। बाढी प्रभावितको उद्धारका क्रममा नेपाली सेनाको हेलिकोप्टरमार्फत हालसम्म १२ जनाको उद्धार गरिसकेको छ।

नेपाली सेनाका अनुसार स्याप्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

उद्धार कार्यका लागि रसुवा क्षेत्रमा नेपाली सेनाका ४ तथा निजी कम्पनीका ८ गरी कुल १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा फसेका तथा जोखिममा रहेका नागरिकको उद्धारलाई प्राथमिकतामा राखेर हेलिकोप्टरमार्फत उद्धार कार्य जारी रहेको जनाइएको छ।

यसैबीच, नेपाली सेनाको मेडिकल टिमले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। बाढीबाट प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन मेडिकल टिम परिचालन गरिएको सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै स्वास्थ्य उपचार तथा राहत व्यवस्थापनका कामसमेत अघि बढाइएको छ।