रसुवा बाढीपछि स्वास्थ्य मन्त्रालयको आपतकालीन संयन्त्र सक्रिय, गम्भीर घाइतेलाई काठमाडौं ल्याउने


काठमाडौं । रसुवामा आएको बाढीपछि सम्भावित मानवीय क्षतिको व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र सक्रिय बनाएको छ।

प्रभावित क्षेत्रमा प्राथमिक उपचारदेखि गम्भीर घाइतेलाई काठमाडौंका ठूला अस्पतालमा ल्याएर उपचार गर्ने गरी स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राखिएको हो।

बाढीको सूचना पाएलगत्तै स्वास्थ्य मन्त्रालयले हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर सक्रिय गर्दै प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सतर्क अवस्थामा राखेको मन्त्रालयका प्रवक्ता डा.समीर अधिकारीले जानकारी दिए।

उनका अनुसार रसुवा र आसपासका स्वास्थ्य संस्थामा आउने घाइतेको प्राथमिक उपचारसँगै ‘ट्रायज’ गरिनेछ। सामान्य अवस्थाका बिरामीको उपचार स्थानीय तहमै गर्ने र स्थानीय स्वास्थ्य संस्थाबाट उपचार सम्भव नहुने गम्भीर घाइतेलाई हब अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ।

यसका लागि मन्त्रालयले हब–स्याटेलाइट अस्पतालको नेटवर्कसमेत सक्रिय गरेको छ। रसुवा अस्पताल, धुन्चे अस्पताल, त्रिशूली अस्पताल तथा आसपासका स्थानीय तहका स्वास्थ्य संस्थाबीच समन्वय गरी घाइते तथा बिरामीको अवस्थाअनुसार उपचार र रेफरलको व्यवस्था मिलाइएको अधिकारीले बताए।

गम्भीर घाइतेको उपचारका लागि काठमाडौंका प्रमुख अस्पताललाई समेत तयारी अवस्थामा राखिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायत हब अस्पतालमा प्रभावित क्षेत्रबाट रिफर भएर आउने बिरामीको व्यवस्थापन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

‘विपद्का घटनाका लागि पहिले नै कार्ययोजना बनेका छन्। स्थानीय अस्पतालमा उपचार सम्भव नभए हब अस्पतालमा रिफर गर्ने र त्यहाँबाट गम्भीर बिरामीको व्यवस्थापन गर्ने प्रणाली अहिले सक्रिय गरिएको छ,’ प्रवक्ता अधिकारीले भने।

यद्यपि, बाढीबाट घाइते भएर काठमाडौं ल्याइएका गम्भीर बिरामीको यकिन संख्या भने अहिलेसम्म स्पष्ट भइसकेको छैन। मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र स्थानीय संयन्त्रमार्फत घाइते तथा प्रभावितको विवरण संकलन र अद्यावधिक गरिरहेको जनाएको छ।