मुग्लिन–नारायणगढ सडक बन्द भएपछि बाइरोडबाट पेट्रोलियम ल्याउने तयारी


काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएपछि काठमाडौंमा अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन सरकारले वैकल्पिक मार्गबाट ढुवानी गर्ने तयारी थालेको छ।

कृष्णभीरमा सडक भासिएपछि सडकखण्ड बन्द हुँदा विशेषगरी पेट्रोलियम पदार्थको आपूर्तिमा असर पर्न नदिन हेटौँडाहुँदै त्रिभुवन राजपथ (बाइरोड_ बाट ढुवानी गर्ने तयारी गरिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हाल कुनै पनि वस्तुको आयात रोकिएको छैन। मुग्लिनको बाटो बन्द भए पनि अन्य वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको आपूर्ति भइरहेको छ।

मन्त्रालयले पेट्रोलियम पदार्थलाई प्राथमिकतामा राखेको छ। नेपाल आयल निगमका अनुसार मंगलबार १२ लाख लिटर पेट्रोल र ६ लाख लिटर डिजेल बिक्री भएको थियो। ठूला ढुवानी सवारी कम सञ्चालन हुँदा पछिल्लो समय डिजेलको माग भने केही घटेको निगमले जनाएको छ।

भोटेकोशी बाढीपछि मुग्लिन जाने सडक यसअघि तीन दिन अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आएलगत्तै कृष्णभीरमा सडक भासिएपछि पुनः यातायात अवरुद्ध भएको हो।