ढुवानी व्यवसायी महासङ्घद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख ३४ हजार रुपैयाँ सहयोग,राहत सामाग्री निशुल्क ढुवानी


काठमाडौँ । ढुवानी व्यवसायी महासङ्घ,नेपालले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गरेको छ ।

अध्यक्ष माधवप्रसाद नेपाल र निवर्तमान अध्यक्ष विश्वनाथ खनालसहितको टोलीले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको सामाजिक सेवा समिति एवं विपद् तथा दैवी प्रकोप समिति सभापतिको सहसभापति समेत रहेका खनालले प्रधानमन्त्री राहत कोषका लागि १२ लाख ३४ हजार ५ सय ६७ रुपैयाँको चेक हस्तान्तरण गरिएको जानकारी दिए ।

अर्थमन्त्रीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नेक्रममा अध्यक्ष माधवप्रसाद नेपालले ढुवानी व्यवसायी महासङ्घले भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँदेखि नुवाकोटसम्म निशुल्करूपमा राहत सामाग्री ढुवानी गरिरहेकोसमेत जानकारी गराएका थिए ।

सहयोग रकम हस्तान्तरणका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अचुतराज खनाल, उपाध्यक्ष अरुण कुमार श्रेष्ठ, महासचिव पुष्पराज श्रेष्ठ, कोषाध्यक्ष पूर्णप्रसाद रेग्मीलगायतको पनि सहभागिता रहेको थियो । कोषाध्यक्ष रेग्मीले व्यवसायीहरूबाट सङ्कलित रकम राहत कोषमा जम्मा गरिएको जानकारी दिए ।