ब्रिक्स सहकार्यबाट ब्राजिलियन व्यवसायीलाई नयाँ व्यापारिक अवसर


चीनको सियामेनमा कार्यरत ब्राजिलियन व्यवसायी मार्सेलो गोमेसले ब्रिक्स राष्ट्रहरूबीचको बढ्दो सहकार्यले व्यापार विस्तारका नयाँ अवसर सिर्जना गरेको बताएका छन् ।

गोमेस सन् २०१७ देखि चीनको फुजियान प्रान्तस्थित सियामेनमा काम गर्दै आएका छन् । उनी अहिले ब्राजिलको एक प्रमुख व्यापारिक कम्पनीको स्थानीय सञ्चालन व्यवस्थापन गर्दैछन् ।

गोमेसकाअनुसार चीनसँग कम्पनीको व्यापार निरन्तर विस्तार भइरहेको छ । कम्पनीले पाँच दशकभन्दा लामो समयदेखि चीनसँग व्यापार गर्दै आएको र मुख्यतः चिनियाँ वस्तु ब्राजिलमा आयात गर्दै आएको उनले बताए ।

उनकाअनुसार सियामेन कम्पनीका लागि रणनीतिक व्यापारिक केन्द्र हो । फुजियान प्रान्तमा ठूलो संख्यामा आपूर्तिकर्ता हुनुका साथै सियामेनमा ठूलो बन्दरगाह रहेकाले चीनबाट ब्राजिलसम्म सामान निर्यात गर्न सहज भएको उनको भनाइ छ ।

सन् २०१७ मा सियामेनमा ब्रिक्स शिखर सम्मेलन आयोजना भएपछि ब्राजिलका थप कम्पनीहरू चिनियाँ बजारमा प्रवेश गर्न सियामेनलाई केन्द्रका रूपमा प्रयोग गर्न थालेको गोमेसले बताए ।

उनले पछिल्लो समय ब्राजिल र चीनबिचको व्यापारिक सम्बन्ध थप बलियो बन्दै गएको उल्लेख गर्दै यो प्रवृत्ति दुवै देशका लागि सकारात्मक रहेको बताए ।

गोमेसले ब्रिक्स राष्ट्रहरूबीच व्यापार तथा आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै आगामी दिनमा ब्रिक्सका सबै सदस्य राष्ट्रबीच अझ बढी सहकार्य हुने अपेक्षा व्यक्त गरेका छन् ।

ब्रिक्सअन्तर्गतका देशहरूबीच बढ्दो आर्थिक तथा व्यापारिक सम्बन्धले व्यवसायीहरूलाई नयाँ बजारमा प्रवेश, लगानी विस्तार र आपूर्ति सञ्जाल विकासका अवसर प्रदान गरिरहेको उनको भनाइ छ ।