काठमाडाैँ । क्यासिनो व्यवसायीहरुले क्यासिनो नविकरण पाँच गर्ने अवधि पाँच वर्ष बनाउन सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा क्यासिनो व्यवसायीहरूले क्यासिनोको नविकरण हरक वर्ष गर्ने व्यवस्था हटाउन माग गरेका हुन् ।
व्यवसायीहरूले एउटा होटलमा एक भन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाईने व्यवस्था गर्न पनि सुझाव दिएका छन् । क्यासिनो व्यवसायी अमूल्य राणाले एउटै होटल परिसरमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको भएपनि त्यसलाई थप स्पष्ट गर्नुपर्ने बताए ।
उनले प्रश्तावित विधेयकमा ‘होटल परिसर’को परिभाषा अझ स्पष्ट गर्न आवश्यक रहेको उल्लेख गरे । एउटै होटलको फरक–फरक भागमा छुट्टाछुट्टै क्यासिनो वा शाखा सञ्चालन गर्न नपाउने गरी कानूनी व्यवस्था स्पष्ट गर्नुपर्ने उनको माग छ ।
उनले क्यासिनोको वर्गीकरण नगर्न पनि आग्रह गरे । वर्गीकरण गर्नैपर्ने भए ४ हजार वर्गफिटभन्दा माथि र तलका क्यासिनोलाई हालको व्यवस्थाअनुसार ‘मिनी’ र ‘ठूलो’ क्यासिनो नै यथावत राख्नुपर्ने बताए ।
उनले क्यासिनोको इजाजतपत्र एक वर्षमा नविकरण गर्ने अवधि बढाउन पनि माग गरे । होटलहरूजस्तै क्यासिनोको नविकरण पनि पाँच वर्षमा गर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।
एक वर्षको लाइसेन्सका कारण बैंकबाट ऋण लिन तथा दीर्घकालीन लगानी गर्न समस्या भएको उनको भनाइ छ । उनले विदेशमा स्थायी बसोवास गर्ने नेपाली तथा पीआरधारी नेपालीलाई पनि क्यासिनो प्रवेशको व्यवस्था गर्नुपर्ने बताए।
अर्का व्यवसायी अमित गुप्ताले क्यासिनोको रोयल्टी तथा जरिवानासम्बन्धी सरकारी अनुगमन प्रणाली प्रभावकारी बनाउनुपर्ने बताए । वर्षको अन्त्यमा मात्र अनुगमन र नवीकरण गर्नेभन्दा नियमित तीन–चार महिनाको अन्तरालमा अनुगमन गर्ने प्रणाली आवश्यक रहेको उनको भनाइ छ । उनले पर्यटन नियमावलीमै नियमित अनुगमन तथा प्रभावकारी निगरानी संयन्त्रको व्यवस्था गर्न पनि माग गरे ।
व्यवसायी गिर्धार टण्डनले सीमा क्षेत्रमा रहेका क्यासिनोका भारतीय ग्राहकलाई सहज आवागमनको व्यवस्था गर्न माग गरे । उनले नेपाल–भारत सीमा नाका २४ घण्टा खुला राख्न पहल गर्न समितिसँग आग्रह गरे ।
भारतीय मुद्राका ठूला दरका नोट नेपाल ल्याउँदा व्यावहारिक समस्या रहेको भन्दै उनले यस विषयमा भारत सरकारसँग पहल गर्न पनि आग्रह गरे । उनले क्यासिनोमा विद्युतीय बिलिङसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न पनि माग गरे ।
क्यासिनोको कारोबारमा परम्परागत वस्तु तथा सेवा विक्रीको बिजक जारी नहुने भएकाले इलेक्ट्रोनिक बिलिङसम्बन्धी प्रावधान क्यासिनो व्यवसायमा लागू नहुने कुरा आर्थिक ऐनमै स्पष्ट गर्नुपर्ने उनको माग छ ।
पर्यटन व्यवसायी बलराम सापकोटाले भने नेपालमा अन्तर्राष्ट्रियस्तरको ठूलो क्यासिनो विकास गर्नुपर्ने बताए । क्यासिनोको लाइसेन्स शुल्क पनि कम रहेको बताउँदै उनले कम्तीमा १०० करोड रुपैयाँ हुनुपर्ने उल्लेख गरे ।
एउटा क्यासिनोले कम्तीमा ३०० देखि ५०० जनालाई रोजगारी दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले सानो क्यानिसो खोल्ने भन्दा ठूलो लगानी र रोजगारी सिर्जना गर्ने क्यासिनोलाई प्राथमिकता दिनुपर्ने बताए ।
‘मिनी’ र ‘ठूलो’ क्यासिनोको वर्गीकरण हटाएर सबैलाई एउटै मापदण्ड लागू गर्नुपर्ने उनको भनाइ छ । साना क्यासिनोलाई आपसमा मर्जर गरी ठूला क्यासिनोमा परिणत गर्न सकिने व्यवस्था ल्याउनुपर्ने उनको सुझाव छ ।
छलफलमा व्यवसायीहरूले भारतीय ग्राहकलाई क्यासिनो प्रवेश गर्न सहज गराउन परिचय खुल्ने पत्र भए पुग्ने व्यवस्था गर्न पनि माग गरेका छन् । साथै उनीहरुले गैरआवासीय नेपाली, पिआरहोल्डर नेपालीलाई पनि क्यासिनो प्रवेश गर्न दिनुपर्ने सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्