आइतबारको बिदा कटौती गर्न सांसद भाटको माग


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आईतवार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन प्रभावित भएको बताए ।

आइतबारकाे बिदा कसैलाई पनि नचाहिएको उनको भनाइ छ । उनले आइतबारकाे बिदा खारेज गरी सातामा एकदिन शनिबार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गरे ।

उनले भने, “विपद्को समयमा मुस्लिम समूदायले पनि सहयोग गर्ने वातारण निर्माणमा सहयोग गर्ने सबैमा धन्यावाद भन्न चाहान्छु । र यो आईतवारको बिदा कसैलाई पनि चाहिएको छैन । शैक्षिक संस्थादेखि सबै ठाउँहरुमा यसले नकारत्मक असर पारिरहेको छ । त्यसकारण सरकारले आईतवारको बिदा कटौती गरेर पहिलेकै शनिवारको बिदा कायम गरोस् ।”

सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित हुँदा कम खपतका गर्न भन्दै गत २०८२ चैत २३ गतेबाट सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।