पोखरामा‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुँदै,४ हजारभन्दा बढी धावकको सहभागिता


काठमाडौँ । पोषण, स्वास्थ्य र सक्रिय जीवनशैलीलाई प्रवर्धन गर्ने उद्देश्यसहित नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनले आगामी २०८३ असोज ३ गते (१९ सेप्टेम्बर २०२६) पोखरामा ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना गर्ने भएको छ ।

‘प्रोटिनका लागि दौड, स्वास्थ्यका लागि दौड, स्वस्थ नेपालका लागि दौड’ भन्ने नारासहित सञ्चालन हुन लागेको कार्यक्रमले जनस्तरमा पोषणसम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनका अध्यक्ष उमेशचन्द्र सापकोटाद्धारा जारी प्रेस विज्ञप्तिमा नेपालले अझै पनि पोषण तथा खाद्य सुरक्षासम्बन्धी गम्भीर चुनौती सामना गरिरहेको उल्लेख गर्दै प्रोटिनको पर्याप्त उपभोगबारे व्यापक जनचेतना आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले पोषणसम्बन्धी बहसलाई केवल गोष्ठी र सम्मेलनमा सीमित नराखी समुदायसम्म पुर्‍याउन खेलकुदलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गरिएको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“नेपालमा अझै पनि गुणस्तरीय प्रोटिनको आवश्यकता, उपलब्धता र महत्वबारे पर्याप्त जानकारी सर्वसाधारणसम्म पुग्न सकेको छैन । अण्डा, मासु, माछा, दूध, सोया, टोफु, पनिर, दाल तथा गेडागुडीजस्ता सहज रूपमा उपलब्ध प्रोटिनका स्रोतबारे जनचेतना बढाउन तथा स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न यो अभियान सञ्चालन गरिएको हो । ”

उक्त अभियान सन् २०१९ देखि निरन्तर सञ्चालन हुँदै आएको र यस वर्षको संस्करण अझ व्यापक बनाइएको आयोजकले जनाएको छ । ‘राइट टु प्रोटिन रन २०२६’ ले प्रोटिनयुक्त आहारको महत्वबारे जनतालाई सचेत गराउनुका साथै नियमित शारीरिक गतिविधि, खेलकुद संस्कृतिको विकास र स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

आयोजकका अनुसार कार्यक्रममा नेपालसहित भारत, चीन, संयुक्त राज्य अमेरिका, डेनमार्क, केन्या, फ्रान्स, दक्षिण कोरिया, जर्मनी तथा अन्य मुलुकका सहभागीहरूको उपस्थिति रहनेछ । ४ हजार १०६ जना धावकको सहभागिता सुनिश्चित भएको संघले जानकारी दिएको छ ।

दौड पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु भएर पुनः सोही स्थानमा समापन हुनेछ। निर्धारित रुटअनुसार धावकहरू बसुन्धरा पार्कबाट हल्लनचोक, खहरे, सेदी, खपौंदी, पामे क्षेत्र हुँदै पुनः बसुन्धरा पार्क फर्किनेछन् ।
प्रतियोगिता आठ विधामा सञ्चालन हुनेछ । जसअन्तर्गतः

हाफ म्याराथन (पुरुष) – २१ किलोमिटर
हाफ म्याराथन (महिला) – २१ किलोमिटर
खुला दौड (पुरुष) – १० किलोमिटर
खुला दौड (महिला) – ५ किलोमिटर
कक्षा १२ सम्मका युवा (पुरुष) – ५ किलोमिटर
कक्षा १२ सम्मका युवा (महिला) – ३ किलोमिटर
ह्विलचेयर दौड (पुरुष) – ३ किलोमिटर
ह्विलचेयर दौड (महिला) – ३ किलोमिटर

प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट पाँच–पाँच धावकलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । कुल पुरस्कार राशी करसहित करिब १६ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख प्रायोजक यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल रहेको छ भने नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यसका अतिरिक्त नेपाल युवा उद्यमी मञ्च , नेपाल ह्याचरी उद्योग संघ, नेपाल लेयर्स कुखुरा पालक संघ, रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, नेपाल पोल्ट्री महासंघ, लायन्स क्लब लगायत विभिन्न संस्थाको सहकार्य रहनेछ ।

सहभागीहरूको स्वास्थ्य र सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । सबै धावकका लागि प्रोटिनयुक्त खाजाको व्यवस्था गरिएको छ, जसमा चिकेन, अण्डा, भटमास, मह र केरालगायत सामग्री समावेश रहनेछन् । साथै दौड मार्गभर १० वटा हाइड्रेसन स्टेसन, ७ वटा एम्बुलेन्स, २०० जना स्वयंसेवक तथा कडा सुरक्षा प्रबन्ध मिलाइएको छ। सहभागी सबैको बीमासमेत गरिने छ ।

कार्यक्रमकै अवसरमा लायन्स क्लब को सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ । सहभागीहरूले भदौ ३१ गते र असोज १ गते पोखरा इभेन्ट सेन्टरबाट आफ्नो टी–सर्ट र बिब नम्बर प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।