कृषि अनुसन्धान परिषद्को संरचना फेरिँदैः अनुसन्धान केन्द्रहरूको मर्जर र ‘स्पीड ब्रिडिङ’ मा जोड


काठमाडाैँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषि अनुसन्धानको प्रभावकारिता बढाउन संगठनको संरचनागत पुनर्संरचना गर्ने भएको छ । 

नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले अनुसन्धान केन्द्रहरूको मर्जर र प्रविधिमैत्री प्रणालीमार्फत कार्यक्षमता अभिवृद्धि गर्ने योजना अघि सारेका हुन् ।

सिंहदरबारमा बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा डा. श्रेष्ठले नेपालको कृषि प्रणालीलाई आत्मनिर्भर र निर्यातमुखी बनाउन अनुसन्धानको ढाँचामा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले बालीको जात विकास गर्न हाल लाग्दै आएको १२ वर्षको समयलाई घटाएर ५–६ वर्षमा झार्न ‘स्पीड ब्रिडिङ सेन्टर’ स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । नार्कले आफ्नो कार्यदक्षता बढाउन र खर्च कटौती गर्न अनावश्यक संरचनाहरू हटाउने वा गाभ्ने नीति लिएको छ ।

यसअन्तर्गत नार्गे र नार्सेलाई मर्जर गर्ने, जुम्लाका चारवटा केन्द्रलाई एकीकृत बनाउने तथा पंक्षी र मत्स्य अनुसन्धानका केही केन्द्रहरूलाई सुदृढीकरण गर्दै अन्य कतिपय व्यावसायिक बाली अनुसन्धान केन्द्रहरू खारेज गर्ने योजना छ । यस्तो पुनर्संरचनाबाट डुप्लिकेसन हट्ने र अनुसन्धानमा पारदर्शिता आउने विश्वास परिषद्को छ ।

नार्कले पहिलोपटक देशभरिको अनुसन्धान योजनालाई डिजिटलाइज गरेको छ । गाउँ तहदेखि राष्ट्रिय स्तरसम्मका सरोकारवालाहरू–निजी क्षेत्र, विश्वविद्यालय, किसान र उद्यमीहरूलाई एकै थलोमा ल्याएर अनुसन्धानको खाका तयार पारिएको डा. श्रेष्ठले बताए । 

पहाडी क्षेत्रको बाँझो जमिन उपयोग गर्दै तराईतर्फको बसाइँसराइ रोक्ने, जलवायु अनुकूलित प्रविधि विकास गर्ने र दूध, माछा तथा प्रोटिनजन्य उत्पादनमा आत्मनिर्भर हुने गरी कृषि अनुसन्धानलाई अघि बढाउने लक्ष्य राखिएको छ ।

प्रविधि हस्तान्तरणका लागि स्थानीय तहसँगको समन्वयलाई थप सुदृढ बनाइने परिषद्ले जनाएको छ ।