काठमाडौं । सांसद सुजाता तामाङले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित कृषि क्षेत्रको पुनर्स्थापनालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभामा बोल्दै तामाङले विपद्पछि प्रभावित क्षेत्रको ग्रामीण जीविकोपार्जन पुनर्गठनका लागि उत्पादनयोग्य जमिनको पुनर्स्थापना, बीउबिजन तथा कृषि सामग्रीको तत्काल व्यवस्था गर्नुपर्ने बताइन्।
उनले बाढीले क्षति पुर्याएका क्षेत्रमा “कुन जमिन पुनः उत्पादनयोग्य छ” भन्ने पहिचान गरी कृषि उत्पादन पुनः सुरु गर्ने वातावरण बनाउनुपर्ने बताइन्। साथै प्रभावित किसानलाई आपत्कालीन कृषि सामग्री, बीउबिजन र पशु सेवा उपलब्ध गराउनुपर्ने उनको माग छ।
“विपद् प्रभावित क्षेत्रमा आपत्कालीन कृषि सामग्री, बीउबिजन र पशु सेवा उपलब्ध गराई पुनः उत्पादनयोग्य जमिन पुनर्स्थापना गर्दै ग्रामीण जीविकोपार्जन पुनर्गठन गर्नुपर्नेछ,” तामाङले भनिन्।
तामाङले पुनर्स्थापनालाई केवल भौतिक संरचना निर्माणमा सीमित गर्न नहुने बताउँदै प्रभावित समुदायको सामाजिक तथा सांस्कृतिक पक्षसँगै कृषि र जीविकोपार्जनलाई पनि केन्द्रमा राख्नुपर्नेमा जोड दिइन्।
उनले जोखिमयुक्त नदी किनारका बस्ती पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा नदी तटीय क्षेत्रलाई “एकीकृत कृषि वन” मा रूपान्तरण गर्नुपर्ने प्रस्ताव पनि राखिन्। माथिल्लो सुरक्षित क्षेत्रमा एकीकृत बसोबासको व्यवस्था मिलाउँदै कृषि उत्पादन र ग्रामीण अर्थतन्त्रलाई पुनः स्थापित गर्ने दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ थियो।
स्थानीय भूगोल, वातावरण र प्राकृतिक अवस्थाबारे स्थानीयवासी तथा आदिवासी जनजातिसँग रहेको ज्ञानलाई पुनर्निर्माण र पुनर्स्थापनाको योजनामा समेट्नुपर्ने तामाङले बताइन्।


प्रतिक्रिया दिनुहोस्