काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले चुनावी घोषणापत्र र नारामा सिमित भएका प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताएका छन् ।
उनले जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिँदै मधेससहित देशभरका समस्या प्राथमिकताका आधारमा समाधान गर्न पार्टीले नीतिगत काम अघि बढाउने बताएका हुन् ।
सोमवार जनकपुरधाममा पार्टीका सांसद डा। अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राका लागि झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै लामिछानेले नयाँ कानून निर्माण, विद्यमान कानूनको सुधार तथा नागरिकका हकअधिकार सुनिश्चित गर्ने कामलाई प्राथमिकता दिने बताए । उनले घोषणापत्रमा धेरै कुरा लेखिए पनि ती प्रतिवद्धतालाई व्यवहारमा उतार्नु मुख्य चुनौती रहेको उल्लेख गरे । लामिछानेले मधेस र सिङ्गो देशका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्नुपर्ने बताउँदै त्यसका लागि नीतिगत सुधार आवश्यक रहेको बताए । पार्टीको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै उहाँले काम गर्ने क्रममा कमजोरी भए सच्याएर अघि बढ्ने बताए।
सभापति लामिछानेले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले मधेससहित सिङ्गो देशका समस्या पहिचान गरी आवश्यकता र प्राथमिकताका आधारमा नीतिगत सुधार गर्नेछ । नयाँ कानून निर्माण, विद्यमान कानूनको परिमार्जन र नागरिकका हकअधिकार सुनिश्चित गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो । घोषणापत्रका प्रतिवद्धतालाई व्यवहारमा उतार्ने यात्रा शुरु भइसकेको छ । चुनौती आए पनि सम्हालिँदै अघि बढ्छौँ ।’
उनले संघीय शासन व्यवस्थाभित्र प्रदेश संरचनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा राष्ट्रिय बहस आवश्यक रहेको पनि बताए । प्रदेश संरचनालाई बलियो बनाउने विषयमा रास्वपाले विगतदेखि नै धारणा राख्दै आए पनि त्यसबापत विभिन्न आक्षेप खेप्नुपरेको उनको भनाइ छ । उनले प्रदेश सरकारहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, प्रदेशको भूमिका थप स्पष्ट बनाउने र स्थानीय तहलाई नागरिकका आवश्यकताअनुसार अधिकारसम्पन्न बनाउने विषयमा छलफल अघि बढाइने बताए। प्रदेश संरचनाको सुधार र पुनरावलोकनको विषय उठाउँदा अनावश्यक रूपमा तर्सिने वा त्यसको गलत अर्थ लगाउने प्रवृत्ति रहेको भन्दै उहाँले यस्ता बहसबाट पछि हट्न नहुने बताए। लामिछानेले रास्वपाले यस विषयमा छिट्टै राष्ट्रिय बहस शुरु गर्ने र अन्य राजनीतिक दल तथा शक्तिहरूसँग सहकार्य गर्दै सहमतिका आधारमा अघि बढ्ने पनि बताए ।
सभापति लामिछानेले भने ‘अब प्रदेश संरचनालाई कसरी मजबुत बनाउने, त्यसलाई जनताको जीविकासँग कसरी जोड्ने र स्थानीय तहलाई थप अधिकारसम्पन्न कसरी बनाउने भन्ने विषयमा राष्ट्रिय बहस आवश्यक छ । प्रदेश सरकारहरूलाई स्थिर र प्रभावकारी बनाउँदै संघीय संरचनामा आवश्यक सुधार गर्नुपर्छ । यी विषयमा हुने बहसलाई गलत अर्थमा बुझ्नु हुँदैन । रास्वपाले सबै राजनीतिक दल र शक्तिसँग संवाद तथा सहकार्य गर्दै सहमतिका आधारमा यो बहस चाँडै अघि बढाउनेछ ।’
उनले जनताले रास्वपालाई दिएको मतलाई निर्विकल्प जिम्मेवारीका रूपमा व्याख्या गर्दै आवश्यकता र प्राथमिकता पहिचान गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्