काठमाडौँ । निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले प्रचलित धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली तथा धितोपत्र निष्काशन एवं बाँडफाँड सम्बन्धी निर्देशिकाअनुसार नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आइपिओ जारी गर्ने जनाएको छ ।
आइपिओ निष्काशनको सम्पूर्ण व्यवस्थापनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड लाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा दुवै पक्षबिच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सन् २००६ मा दर्ता भई २०१७ मा उद्योग स्थापना गरेको निप्पोन फर्मास्युटिकल नेपालकै आधुनिक औषधि उत्पादन कम्पनीमध्ये एक मानिन्छ ।
कम्पनीले डब्लुएचओ–जिएमपी तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुरूप ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रीम, जेल, ओआरएस, ड्राइ सिरप तथा पेनिसिलिन लगायतका विभिन्न औषधिजन्य उत्पादनहरू निर्माण गर्दै आएको छ । कम्पनीले स्थापना भएको केही वर्षमै नेपाली औषधि बजारमा उल्लेखनीय उपस्थिति बनाएको दाबी गरेको छ । सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजार व्यवस्थापन सुरु गरेको कम्पनीले छोटो अवधिमै विभिन्न थेराप्युटिक समूहका ६० भन्दा बढी उत्पादन बजारमा ल्याउन सफल भएको जनाएको छ ।
सेयर निष्काशनका लागि भएको सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक मन्टु घिमिरे तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी ले हस्ताक्षर गरेका छन् ।
कम्पनीले आइपिओमार्फत प्राप्त हुने पूँजी उत्पादन क्षमता विस्तार, नयाँ उत्पादन विकास तथा बजार विस्तारमा उपयोग गर्दै दीर्घकालीन व्यावसायिक वृद्धिको आधार तयार गर्ने अपेक्षा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्