काँग्रेसको १५ औँ महाधिवेशनः प्रविधिमैत्री बनाइँदै, मौजुदा विधानमा व्यापक हेरफेरको तयारी


काठमाडाैँ । नेपाली काँग्रेसले अगामी आईतवारदेखि शुरु हुने पार्टीको १५ औँ महाधिवेशन पार्टीको मौजुदा विधानमा व्यापक संशोधन गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा समिति संयोजक तथा पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीलाई थप जनमुखि बनाउन पार्टीको मौजुदा विधानमा व्यापक हेरफेर गरिने जानकारी दिए ।

उनकाअनुसार हाल विधानमाथि पार्टी महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले काम गरिरहेको छ । उनले १५ महाधिवेशनपछि काँग्रेसलाई जनताले खोजेको पार्टी बन्ने जिकिर गरे । उनले महाधिवेनमा निर्वाचन प्रक्रिया शुरु हुनुभन्दन अगाडि नै पार्टीका मौजुदा दस्तावेजमाथि गम्भीर छलफल गरिने पनि बताए ।

उनले भने, “हामी जनताले खोजेको काँग्रेस बनाउने प्रयत्नमा छौँ । जनताको परिकल्पना गरेको पार्टी बनाउन पार्टीका दस्तावेजमा उहाँहरुका भावना समेट्ने प्रयत्न गर्नेछौँ यस पटक । महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरु हुनुभन्दा अगाडि हामी विधान संशोधन पनि गर्नेछौँ । विधान संशोधनको अग्राधिकार महाधिवेशन राख्नेछौँ ।”

महाधिवेशन स्थलबाहेकका क्षेत्रमा प्रचार सामग्री नराख्नेः प्रविधिमैत्री महाधिवेशनको अभ्यास

प्रवक्ता चालिसेले महाधिवेशन स्थलबाहेक क्षेत्रमा प्रचारप्रसारका सामग्री नराखिने बताए । महाधिवेशन उद्घाटन स्थल खुलामञ्चको मूल गेट बाहेक शहरका अन्य क्षेत्रमा पार्टीका प्रचार सामग्री नराखिने उनकाे भनाइ छ ।

महाधिवेशनलाई प्रविधिमैत्री बनाउन यो यस्तो गर्न लागिएको उनले जानकारी दिए । उनले महाधिवेशन प्रतिनिधिहरुलाई महाधिवेशनस्थलमा पुग्न विभिन्न क्षेत्रबाट सवारीको व्यवस्था रहेको र सोसम्बन्धी सूचना पनि मोबाइलमा एसएमएसको माध्यमबाट उपलब्ध गराइने बताए ।

प्रवक्ता चालिसेले काठमाडौँ उपत्यकासहित देशका मुख्य शहरहरुमा सय वटा डिजिटल बोर्डहरुमार्फत १५औँ महाधिवेशनसम्बन्धी सूचनाहरू प्रशारण भइहरेको समेत जानकारी दिए । उनले महाधिवेशन प्रतिनिधिहरुको लागि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिएको समेत जानकारी दिए ।

महाधिवेशनमा देशभर तथा प्रवासबाट समेत गरेर ७ हजार ७ सय प्रतिनिधि सहभागि हुने

प्रवक्ता चालिसेले पार्टीको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने जानकारी निर्वाचन समितिबाट प्राप्त भएको जानकारी दिए । क्षेत्रीय महाधिवेशनको निर्वाचन प्रक्रिया समेत सम्पन्न भइसकेको र केही क्षेत्रमा मतगणना भइरहेको प्रवक्ता चालिसेलेल बताए ।

उनका अनुसार प्रवासबाट सहित उक्त संख्यामा महाधिवेशन प्रतिनिधि सहभागि हुने बताए । काँग्रेसको इतिहासमा महाधिवेशनमा ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागि हुन लागेको यो पहिलो पटक भएको चालिसेको दाबी छ ।

उनले भने, “विशेष गरेर केन्द्रीय निर्वाचन समितिले हामीलाई दिएको जानकारी अनुसार यो महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि भाग लिने अनुमान गरिएको छ । र नेपाली काँग्रेसको इतिहासमा यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि सहभागि हुन लागेको यो पहिलो पटक हो । हामी जनताले खोजेको काँग्रेस बनाउने प्रयत्नमा छौँ । जनताको परिकल्पना गरेको पार्टी बनाउन पार्टीका दस्तावेजमा उहाँहरुका भावना समेट्ने प्रयत्न गर्नेछौँ यस पटक । महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरु हुनुभन्दा अगाडि हामी विधान संशोधन पनि गर्नेछौँ । विधान संशोधनको अग्राधिकार महाधिवेशन राख्नेछौँ ।”

उनले महाधिवेशनमा सहभागि हुन देशका सबै राजनीतिक दल तथा छिमेकीसहित मित्र राष्ट्रका सत्तारुढ र प्रतिपक्षी दलहरुलाई आमन्त्रण गरिएको समेत जानकारी दिए ।