सोह्र श्राद्ध: पितृस्मृति, पितृऋण र सनातन कृतज्ञताको अनुष्ठान


सन्दीप सापकोटा

मानवजीवन अतीतका असंख्य संस्कार, साधना, संस्कृतिबोध, अनुभव र उत्तराधिकारको समष्टिगत प्रतिफल हो । मनुष्यले प्राप्त गरेको देह, चेतना, संस्कार, भाषा, संस्कृति, कुलपरम्परा र सामाजिक अस्तित्व उसको व्यक्तिगत अर्जन मात्र होइन । त्यसको अन्तरालमा अनेकौँ पूर्वजहरूको जीवनसङ्घर्ष, तपस्या, त्याग, ज्ञान, कर्म र संस्कारको सञ्चिति निहित रहेको हुन्छ । यही अस्तित्वगत सम्बन्धको स्मरण, पूर्वजप्रति कृतज्ञता तथा पितृऋणको परिशोधन गर्ने सनातन वैदिक–स्मार्त परम्पराको एक विशिष्ट पर्व हो—सोह्र श्राद्ध ।

भाद्रपद पूर्णिमादेखि आश्विन अमावस्यासम्मको पितृपक्षलाई नेपाली समाजमा प्रचलित भाषामा ‘सोह्र श्राद्ध’ भनिन्छ । यो अवधि दिवङ्गत पितृहरूको नाममा पितृचिन्तन, पितृतर्पण, पिण्डप्रदान, स्मृतिसंरक्षण र वंशपरम्पराप्रति कृतज्ञताको आध्यात्मिक पर्व हो । यस अवधिमा तिथि अनुसार गरिने श्राद्धले व्यक्ति र पितृबीचको सम्बन्धलाई पुनःस्मरण गराउँछ र जीवनको निरन्तरता कुनै एक पुस्ताको सीमित उपलब्धि नभएको बोध गराउँछ ।

‘श्राद्ध’ शब्द स्वयं श्रद्धाबाट निष्पन्न भएको हो । श्रद्धा अर्थात् आस्था, विश्वास, आदर, समर्पण र अन्तःकरणगत निष्ठासहित सम्पन्न गरिने कर्म नै श्राद्ध हो । अतः श्राद्धको प्राण अन्तःकरणगत श्रद्धाभावमा प्रतिष्ठित छ । तिल, कुश, जल, पिण्ड, अन्न, हवि, ब्राह्मणभोजन आदि यसका दृश्य अनुष्ठानात्मक अवयव हुन्; तर तिनको अन्तर्निहित तात्त्विक अभिप्राय भने पितृप्रति कृतज्ञता, स्मरण, श्रद्धा र ऋणस्वीकार हो ।

पितृ उपासनाको यस्तो अवधारणा वैदिक वाङ्मयमै अत्यन्त प्राचीन रूपमा प्रतिष्ठित छ । ऋग्वेदमा पितृहरूलाई सम्बोधित मन्त्र तथा पितृयज्ञसम्बन्धी वैदिक चेतना पाइन्छ । विशेषतः शुक्लयजुर्वेद र शतपथ ब्राह्मणमा यज्ञीय तथा पितृसम्बन्धी कर्महरूको वैदिक पृष्ठभूमि विकसित भएको देखिन्छ । कालान्तरमा गृह्यसूत्र, धर्मसूत्र, स्मृतिग्रन्थ तथा पुराणहरूले श्राद्धविधिलाई अधिक व्यवस्थित, संस्कारित र विधिनिष्ठ स्वरूप प्रदान गरे ।

मनुस्मृति, याज्ञवल्क्यस्मृति, विष्णुधर्मसूत्र, नारदस्मृति, कात्यायनस्मृति आदि धर्मशास्त्रीय ग्रन्थमा श्राद्ध, पितृयज्ञ, पात्रता, द्रव्य, काल तथा विधिसम्बन्धी विभिन्न निर्देश प्राप्त हुन्छन् । त्यसैगरी गरुडपुराण, विष्णुपुराण, मार्कण्डेयपुराण, भविष्यपुराण, ब्रह्मपुराण, नारदपुराण लगायतका पौराणिक ग्रन्थहरूमा पितृकर्म, श्राद्ध तथा पितृलोकसम्बन्धी विस्तृत आख्यान र तात्त्विक विवेचन पाइन्छ । महाभारतमा समेत पितृश्राद्ध, दान तथा पितृसन्तुष्टिको महत्त्व विभिन्न प्रसङ्गमा प्रतिपादित छ । यस दृष्टिले सोह्र श्राद्धको वैचारिक अधिष्ठान वैदिक पितृयज्ञदेखि स्मार्त धर्मव्यवस्था हुँदै पौराणिक पितृतत्त्वसम्म विस्तारित दीर्घ सांस्कृतिक परम्परामा प्रतिष्ठित छ ।

पितृऋण : अस्तित्वको अदृश्य अनुबन्ध

सनातन दार्शनिक परम्पराले मनुष्यलाई स्वतन्त्र र स्वयंसिद्ध सत्ता मात्र मानेको छैन; उसलाई विभिन्न ऋणद्वारा आबद्ध उत्तरदायी अस्तित्वका रूपमा ग्रहण गरेको छ । देवऋण, ऋषिऋण र पितृऋणको अवधारणा यही चेतनाको द्योतक हो । पितृऋणको अर्थ केवल जन्मदाता माता–पिताप्रति रहेको व्यक्तिगत दायित्व मात्र नभई सम्पूर्ण पूर्वजपरम्पराप्रति रहेको अस्तित्वगत, सांस्कृतिक तथा नैतिक ऋण हो ।

हाम्रो शरीर पितृपरम्पराबाट प्राप्त भएको छ । हाम्रो नाम, गोत्र, कुलाचार, संस्कार, पारिवारिक परम्परा, सामाजिक मूल्य र जीवनपद्धतिको निर्माणमा अघिल्ला पुस्ताको योगदान छ । त्यसैले पितृहरूको स्मरण गर्नु वस्तुतः आफ्नै अस्तित्वको मूलाधारको स्मरण गर्नु हो ।

यही कारण श्राद्धमा पितृहरूको नाम र गोत्र उच्चारण गरिन्छ । नामोच्चारणले स्मृतिलाई व्यक्तिगत बनाउँछ भने गोत्रोच्चारणले त्यसलाई वंशपरम्परासँग आबद्ध गर्दछ । कुश, तिल र जलद्वारा गरिने तर्पणले पितृप्रति श्रद्धापूर्वक समर्पणको अभिव्यक्ति दिन्छ । पिण्डदानले देह, अन्न र जीवनबीचको सनातन सम्बन्धलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्छ ।

तर्पण र पिण्डदानको अन्तर्निहित तत्त्व

‘तर्पण’को सामान्य अर्थ सन्तुष्टिप्रदान वा तृप्तिकरण हो । पितृतर्पणमा जललाई माध्यम बनाएर पितृहरूको स्मरण तथा समर्पण गरिन्छ । जल स्वयं जीवनको मूलाधार भएकाले तर्पणको प्रतीकात्मकता अत्यन्त गहन छ । जलको प्रवाहजस्तै वंशपरम्परा पनि एक पुस्ताबाट अर्को पुस्तातर्फ प्रवाहित हुन्छ ।

त्यसैगरी पिण्डदान श्राद्धको प्रमुख अवयव हो । अन्नबाट निर्मित पिण्ड केवल पदार्थविशेष होइन; यो जीवनको भौतिक आधारको प्रतीक हो । ‘अन्नं ब्रह्म’ भन्ने वैदिक दृष्टिकोणमा अन्नलाई जीवनधारणको मूलाधारका रूपमा ग्रहण गरिएको छ । अतः पिण्डप्रदानमा पितृप्रति अन्नमय समर्पणको भाव अन्तर्निहित रहेको देखिन्छ ।

श्राद्धमा तिलको प्रयोग पनि अत्यन्त अर्थपूर्ण छ । वैदिक–स्मार्त परम्परामा तिललाई पवित्र तथा पितृकर्मोपयोगी द्रव्यका रूपमा मान्यता प्राप्त छ । कुशलाई पवित्रतासूचक मानिन्छ । यसरी श्राद्धका प्रत्येक द्रव्यभित्र कुनै न कुनै प्रतीकात्मक, अनुष्ठानिक र तात्त्विक अर्थ निहित रहेको हुन्छ ।

षोडश तिथिको सांस्कृतिक संरचना

पितृपक्षका विभिन्न तिथिमा गरिने श्राद्धले पितृस्मरणलाई एक दिनको सीमित कर्म नबनाई एउटा समग्र पितृपर्वको स्वरूप प्रदान गरेको छ । परिवारमा दिवङ्गत व्यक्तिको मृत्यु–तिथि ज्ञात भए सोही तिथिमा श्राद्ध गर्ने प्रचलन छ । तर पितृपक्षले ज्ञात पितृसँगै विस्मृत, अज्ञात वा तिथि निश्चित नभएका पितृहरूको समेत स्मरण गर्ने व्यापक भावभूमि प्रदान गर्दछ ।

पितृपक्षको अन्तिम दिन पर्ने सर्वपितृ अमावस्याको विशिष्ट महत्त्व यही कारणले स्थापित भएको हो । यस दिन तिथ्यज्ञान नभएका वा निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएका पितृहरूको सामूहिक श्राद्ध गर्ने परम्परा छ । यसले पितृस्मृतिलाई पारिवारिक सीमाबाट विस्तार गरी सर्वपितृसमावेशी सांस्कृतिक चेतनामा रूपान्तरित गर्दछ ।

आधुनिकताको दैलोमा श्राद्धको पुनर्पाठ

आधुनिक वैज्ञानिक चेतना, नगरीकरण, आणविक परिवार, वैदेशिक प्रवासन तथा तीव्र सामाजिक रूपान्तरणका कारण पारम्परिक संस्कारहरूको स्वरूप परिवर्तन भइरहेको छ । यस्तो संक्रमणकालमा सोह्र श्राद्धको पुनर्पाठ आवश्यक छ । यसको बाह्य कर्मविधानलाई यथावत् पालन गर्ने वा नगर्ने विषय व्यक्तिगत धार्मिक आस्थासँग सम्बन्धित हुन सक्छ; तर यसको मूल मानवीय तथा सांस्कृतिक सन्देश आज पनि उत्तिकै प्रासङ्गिक छ ।

आज पितृस्मरण भन्नाले केवल पिण्डदान र तर्पणमा सीमित हुनु आवश्यक छैन । त्यसको धार्मिक सांस्कृतिक मान्यता त आफ्नो स्थानमा विशिष्ट छँदै छ । आफ्ना पूर्वजहरूको जीवनगाथा अभिलेखीकरण गर्नु, पारिवारिक इतिहास नयाँ पुस्तालाई हस्तान्तरण गर्नु, वृद्ध माता–पिताको सम्मान गर्नु, अन्नदान गर्नु, असहायलाई सहयोग गर्नु, वृक्षारोपण तथा पर्यावरणसंरक्षण गर्नु र समाजमा परोपकारको संस्कार प्रवर्धन गर्नु पनि पितृप्रति कृतज्ञताको आधुनिक अभिव्यक्ति बन्न सक्छ । किनकि श्राद्धको वास्तविक सार मृतकप्रति गरिने कर्मभन्दा जीवितमा जागृत हुने कृतज्ञताबोधमा निहित छ ।

अतः सोह्र श्राद्धलाई केवल कर्मकाण्डको आवरणभित्र सीमित गरेर हेर्नु यसको गहन तात्त्विक पक्षलाई संकुचित गर्नु हुनेछ । यो स्मृति र विस्मृतिबीचको सेतु हो; अतीत र वर्तमानबीचको संवाद हो; वंशपरम्परा र उत्तराधिकारबीचको अनुबन्ध हो; पितृऋण र कृतज्ञताबीचको आध्यात्मिक समन्वय हो ।

कुशको पवित्र आसन, तिलमिश्रित जल, अन्नमय पिण्ड र पितृनामको श्रद्धापूर्ण उच्चारणबीच वास्तवमा एउटा गम्भीर सांस्कृतिक उद्घोष प्रतिध्वनित हुन्छ-मानव आफ्नो अतीतबाट विच्छिन्न भएर पूर्ण हुन सक्दैन ।

पितृहरू केवल इतिहासमा विलीन भएका व्यक्तित्व होइनन्; उनीहरू हाम्रो वंशीय स्मृति, सांस्कृतिक संस्कार र अस्तित्वगत निरन्तरताका अदृश्य आधार हुन् । त्यसैले सोह्र श्राद्धमा पितृलाई अर्पित गरिएको एक अञ्जलि जल केवल जल रहँदैन; त्यो कृतज्ञताको प्रतीक बन्छ । पिण्ड केवल अन्न रहँदैन; त्यो स्मृतिको मूर्त अभिव्यक्ति बन्छ । र श्राद्ध केवल कर्मकाण्ड रहँदैन; त्यो मानवले आफ्नो अस्तित्वको मूलप्रति व्यक्त गरेको सनातन प्रणाम बन्न पुग्छ ।

यस अर्थमा सोह्र श्राद्धको वास्तविक महिमा यही हो—‘म को हुँ ?’ भन्ने प्रश्नको उत्तर खोज्दा ‘मभन्दा अघि को थिए ?’ भन्ने प्रश्नलाई विस्मृत हुन नदिनु । अतीतप्रति श्रद्धा, वर्तमानप्रति उत्तरदायित्व र भविष्यप्रति उत्तराधिकारबोध – यी तीनैको त्रिवेणीमा प्रवाहित हुने सनातन पितृ उपासनाको यही चेतना आज पनि सोह्र श्राद्धलाई नेपाली समाजको जीवन्त सांस्कृतिक पर्वका रूपमा प्रतिष्ठित गरिरहेको छ ।