एनपिएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः रङ्गीचङ्गी बकेट कुर्सीदेखि स्वागतद्वारसम्म अन्तिम चरणमा तयारी (फोटो फिचर)


काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मुहार फेरिन थालेको छ ।

आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदानको स्तरोन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

एनपिएलको तेस्रो संस्करण शुरु हुनुपूर्व नै मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डका पहेंलो, रातो, सुन्तला र सेतो रङका हजारौँ बकेट कुर्सीहरू जडान गरिएका छन् । मैदानको गोलाईअनुसार व्यवस्थित रूपमा मिलाइएका यी कुर्सीहरूले रंगशालालाई बेग्लै भव्यता प्रदान गरेका छन् ।

क्यान स्रोतकाअनुसार प्रत्येक सिटलाई निश्चित नम्बरिङ गरी दर्शकलाई सहजै आफ्नो स्थान पहिचान गर्न सकिने प्रणाली लागू गरिँदैछ । यसबाट दर्शकहरू बिचको अव्यवस्था र धकेलाधकेल अन्त्य भई सुरक्षित वातावरणमा खेल अवलोकन गर्न सकिनेछ ।

टि–२० क्रिकेटको मुख्य आकर्षण भनेकै चौका र छक्काको वर्षा र तिब्र गतिको खेल हो । यसलाई मनन गर्दै त्रिवि मैदानको केन्द्रिय पिच स्क्वायर र आउटफिल्डलाई विशेष शतर्कताका साथ स्याहार गरिँदैछ । स्थानीय क्युरेटर तथा मैदानकर्मीहरू बिहानैदेखि स्वचालित लन मोवर मेसिन चलाएर घाँसको लम्बाइ बराबर पार्न र रोलरमार्फत पिचको कडापन बढाउन जुटिरहेका छन् ।

आउटफिल्डमा हरियो दुबोलाई सन्तुलित पानी र मलखाद दिई चिल्लो गलैँचाजस्तै बनाइएको छ, जसले गर्दा खेलाडीहरूलाई बाउन्ड्री लाइन नजिकै डाइभ लगाउँदा घाइते हुने जोखिम निकै न्युन हुनेछ । बलले जमिन छुँदा द्रुत गतिमा सीमाना पार गर्ने किसिमको आउटफिल्ड तयार भइरहेको प्राविधिक टोलीले जनाएको छ ।

मैदान परिसरमा सिभिल इन्जिनियरिङ र निर्माणको काम पनि उत्तिकै द्रुत गतिमा अघि बढिरहेको छ । कामदारहरूले बालुवा, गिट्टी र रातो इँटाको प्रयोग गरी नयाँ दर्शक मञ्च, खेलाडी प्रवेश मार्ग र मञ्चको जग उठाइरहेका छन् ।

त्यस्तै, फलामका मजबुत ट्रस र बिमहरूमा दक्ष प्राविधिकहरूले वेल्डिङ गर्दै अन्तर्राष्ट्रिय कमेन्ट्री बक्स, प्रत्यक्ष टेलिभिजन प्रशारण क्यामेरा प्लेटफर्म र विशिष्ट अतिथि लाउन्जको निर्माण कार्यलाई पूर्णता दिइरहेका छन् । विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकहरूका लागि वातानुकूलित र आधुनिक प्रविधियुक्त कार्यकक्षको व्यवस्था मिलाइँदैछ ।

मैदानभित्र मात्र होइन, बाहिर कीर्तिपुर जाने सम्पूर्ण सडकमा समेत क्रिकेटको उत्सव छाएको छ । काठमाडौँबाट त्रिवि मैदानतर्फ जाने मुख्य सडकमा एक्सट्रिम इनर्जी ड्रिंक, ओमोडा–जाईकु लगायतका मुख्य प्रायोजकहरू र जनकपुर बोल्ट्सका मार्की खेलाडी रोहित पौडेललगायत विभिन्न फ्रेन्चाइज टिमका खेलाडीहरूको तस्बिरसहितको भव्य स्वागतद्वार ठडिएको छ ।

सडकका बिजुलीका पोलहरूमा कामदारहरूले अग्ला भ¥याङ चढेर एनपीएलका आकर्षक ब्यानर र प्रचार सामग्री टाँसिरहेका छन् । यसले स्थानीय बासिन्दा तथा खेल हेर्न आउने समर्थकहरूमा अभूतपूर्व उत्साह जगाएको छ । प्रतियोगिता अवधिभर अत्यधिक दर्शकको चाप हुने सम्भावनालाई दृष्टिगत गर्दै नेपाल प्रहरी र आयोजकले कडा सुरक्षा योजना तयार पारेका छन् ।

खेल मैदान परिसरमा सीसीटीभी क्यामेरा, मेटल डिटेक्टर र सुरक्षा जाँच चौकिहरू रहनेछन् । दर्शकका लागि डिजिटल टिकट अनिवार्य गरिनेछ जसबाट दर्शकले आफ्नो निर्धारित गेट र सिट नम्बर सजिलै पत्ता लगाउन सक्नेछन् । साथै, सवारी साधन पार्किङका लागि कीर्तिपुर क्षेत्रका खुला ठाउँहरू निर्धारण गरिएको छ । आगामी कात्तिक ९ गते उद्घाटन खेलसँगै नेपाली क्रिकेटले नयाँ युगमा पाइला टेक्नेछ ।–न्युज एजेन्सी नेपाल

तस्बिरहरुः नेपाल फोटो सर्भिस (एनपिएस)