सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल बर्खास्त


काठमाडौँ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सरकारले बर्खास्त गरेको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै दाहाललाई आचरणसम्बन्धी विषयमा बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन गतिविधिमा संलग्न भएको तथा नेपाल सरकार र आफू कार्यरत सङ्गठनको मान–प्रतिष्ठामा आँच पुग्ने कार्य गरेको ठहर गर्दै सशस्त्र प्रहरी सेवाबाट हटाइएको जनाएको हो ।

२०८३ असोज २३ गतेदेखि लागू हुने गरी उनलाई सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दाहालले आचरणसम्बन्धी विषयमा पटक–पटक उल्लङ्घन गरेको, अनुशासनविपरीत काम गरेको र सङ्गठन तथा सरकारको छविमा असर पार्ने गतिविधि गरेको निष्कर्षका आधारमा विभागीय कारबाही गरिएको जनाइएको छ ।

सुरक्षा सम्बन्धी संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयको सिफारिसपछि गृह मन्त्रालयले दाहाललाई निलम्बन गर्दै असोज १९ गते छानविन समित गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदनमो आधारमा दाहाललाई बर्खास्त गरिएको हो ।