काठमाडौं । गत भदौ १० गते गएको ल्हेन्दे-भोटेकोसी जलप्रलय(गाङबाल)ले अढाइ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको विश्व बैंकले बताएको छ।
बैंकद्वारा तयार विश्वव्यापी द्रुत विपद्पछिको क्षति आकलन (ग्रेड) प्रतिवेदनअनुसार गाङबालका कारण भौतिक सम्पत्तिमा भएको कुल प्रत्यक्ष आर्थिक क्षति १ अर्ब ६६ अर्ब १० करोड रुपैयाँ अमेरिकी डलर अर्थात् रु. २५२ अर्ब ४७ करोड २० लाख पुगेको प्रारम्भिक आकलन गरिएको छ।
पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । जुन यस क्षेत्रमा भएको क्षतिको अनुमानित मूल्य अमेरिकी डलर १ अर्ब ३७ करोड ५० अमेरिकी डलर अर्थात् रु. २ र्खब ८ अर्ब ९० करोड रहेको छ, यो कुल क्षतिको ८३ प्रतिशत हो।
यसैगरी आवासीय भवनहरूमा १८ करोड ५० लाख अमेरिकी डलर (रु. २८ अर्ब १२ करोड) बराबरको क्षति भएको छ, जुन कुल क्षतिको ११ प्रतिशत हो।
त्यसैगरी, गैरआवासीय भवनहरूमा अमेरिकी डलर १० करोड १० लाख अमेरिकी डलर अर्थात् रु. १५ अर्ब ३५ करोड २० लाख बराबरको क्षति भएको छ, जुन कुल क्षतिको ६ प्रतिशत हो।
कुल अनुमानित क्षतिमध्ये पूर्वाधार तथा कृषि सम्पत्ति वर्गको हिस्सा १.३७५ अर्ब डलर अर्थात् करिब ८३ प्रतिशत छ। आवासीय भवन तथा सामग्रीमा १८५ मिलियन डलर (११ प्रतिशत) र गैरआवासीय भवन तथा सामग्रीमा १०१ मिलियन डलर (६ प्रतिशत) क्षति अनुमान गरिएको छ।
भौतिक क्षतिको ठूलो हिस्सा रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लामा केन्द्रित रहेकोमा सबैभन्दा बढी प्रभावित रसुवा जिल्लामा १ अर्ब ६ करोड ९० लाख अमेरिकी डलर अर्थात् रु. १६२ अर्ब ४८ करोड ८० लाख बराबरको क्षति भएको छ। यो कुल क्षतिको ६४ प्रतिशत हो।
दोस्रो बढी प्रभावित जिल्ला नुवाकोटमा अमेरिकी डलर ५५ लाख १० लाख अमेरिकी डलर अर्थात् रु. ८३ अर्ब ७५ करोड २० लाख बराबरको क्षति भएको छ।
यस्तै, धादिङमा अमेरिकी डलर ३ करोड ९० लाख अमेरिकी डलर अर्थात् रु. ५ अर्ब ९२ करोड ८० लाख (रु. ५.९२८ अर्ब) बराबरको क्षति पुगेको छ।
सापेक्षिक क्षतिको दृष्टिले रसुवा जिल्लाको कुल जोखिममा रहेको सम्पत्तिको मूल्यको २३.३३ प्रतिशत बराबरको क्षति भएको छ। नुवाकोटमा उक्त मूल्यको ९.१७ प्रतिशत र धादिङमा ०.८४ प्रतिशत बराबरको क्षति भएको अनुमान छ।
जलविद्युत् क्षेत्रमा परेको प्रभाव
जलविद्युत् क्षेत्रमा विशेष रूपमा ठूलो क्षति पुगेको छ। त्रिशूली तथा भोटेकोशी नदी प्रणालीअन्तर्गत पर्ने रसुवागढी, चिलिमे र त्रिशूली जलविद्युत् आयोजनालगायतका विभिन्न महत्त्वपूर्ण जलविद्युत् सम्पत्तिहरू प्रभावित भएका छन्।
बाढीबाट भएको कुल क्षतिमध्ये ४३ प्रतिशत जलविद्युत् क्षेत्रमा परेको अनुमान छ। यस क्षेत्रको कुल क्षतिको मूल्य अमेरिकी डलर ७२ करोड १० लाख अमेरिकी डलर अर्थात् रु. १०९ अर्ब ५९ करोड २० लाख रहेको छ।
भवनहरूमा भएको क्षति
प्रतिवेदनअनुसार बाढीको प्रभाव क्षेत्रमा करिब १२ हजार २०० भवन पहिचान गरिएका छन्। तीमध्ये करिब ६ हजार ७०० भवन पूर्ण रूपमा ध्वस्त भएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् भने थप ५ हजार ५०० भवन नक्साङ्कन गरिएका प्रभाव क्षेत्रका परिधिमा अवस्थित छन्।
यातायात पूर्वाधारमा परेको प्रभाव
यातायात क्षेत्रअन्तर्गत १०० किलोमिटरभन्दा बढी सडक तथा अन्य यातायात मार्गहरू कुनै न कुनै स्तरमा क्षतिग्रस्त भएका प्रतिवेदनमा जनाइएको छ।
एउटै साँघुरो नदी उपत्यकाभित्र महत्त्वपूर्ण पूर्वाधारमा क्षति केन्द्रित हुँदा वैकल्पिक सडक सञ्जालको अभावका कारण आवागमनमा गम्भीर अवरोध उत्पन्न भएको प्रतिवेदनले उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार सवारीसाधन चलाउन मिल्ने महत्त्वपूर्ण पुल तथा झोलुङ्गे पुलहरू नष्ट भएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका तथा चीनसँगको रणनीतिक उत्तर–दक्षिण व्यापारिक सम्पर्क मार्गमा उत्पन्न अवरोधले व्यापक आर्थिक प्रभावसमेत पारेको छ।
ल्हेन्दे-भोटेकोसी जलप्रलयले अढाइ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति: विश्व बैंक


प्रतिक्रिया दिनुहोस्