सूचना प्रविधि उद्यमी सिर्जना श्रेष्ठको संसदयात्रा


व्यवसायमा स्थापित भइसकेपछि नीतिगत अवरोधसँग जुध्दै राजनीतिमा प्रवेश गरेकी उनी संसद् र संसदीय समितिमार्फत अर्थतन्त्र, सूचना प्रविधि र उद्योग व्यवसाय क्षेत्रका समस्या सम्वोधनका लागि सक्रिय छिन् ।

लक्ष्मी ज्ञवाली___

धरानमा जन्मिएकी सिर्जना श्रेष्ठको बाल्यकालको ठुलो हिस्सा विराटनगरमा बित्यो । बुवाको कामका कारण कक्षा १० सम्मको पढाइ विराटनगरमै भयो । त्यसपछि परिवारको व्यवसाय काठमाडौँ सरेसँगै उनको जीवनले नयाँ मोड लियो । 

पढाइसँगै आर्थिक रूपमा आत्मनिर्भर हुने चाहनाले उनलाई कम उमेरमै कामतर्फ डोर्‍यायो  । उनले इभेन्ट म्यानेजमेन्ट, अकाउन्ट, मार्केटिङ र एडमिनिस्ट्रेसनलगायत क्षेत्रमा काम गरिन् । कम्प्युटरको औपचारिक शिक्षा नलिए पनि कामकै क्रममा सूचना प्रविधिको क्षेत्रमा अनुभव बटुल्दै गइन् । 

स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उनले बहुराष्ट्रिय कम्पनीमा सात वर्ष काम गरिन् । त्यसपछि आफ्नै व्यवसाय सुरु गरिन् । फिनिक्स ट्रेडिङ हुँदै क्लाउडिङ एन्ड सेक्युरिटी इन्टरप्राइजेसमार्फत विभिन्न आठ ब्रान्डका सामान ७७ ओटै जिल्लामा वितरण गर्ने व्यावसायिक यात्रा अघि बढ्यो । व्यवसाय विस्तारसँगै नीतिगत समस्या पनि उनका लागि दैनिक चुनौती बन्दै गयो । 

कम्पनी दर्तादेखि भन्सार र ग्रे च्यानलसम्मका समस्याले उनलाई सरकारी संयन्त्रसँग पटक–पटक ठोक्किनुपर्‍यो । “एक्लै लड्दा कतैबाट काम नबनेपछि म एकदमै निराश पनि भएँ,” उनी सम्झिन्छिन् । त्यो निराशा नै पछि उनको राजनीतिक यात्राको एउटा आधार बन्यो । यद्यपी अध्ययनशील बानी र आफूलाई लागेको कुरा निर्धक्क राख्न सक्ने बोल्ड स्वभावकी उनलाई सांसद यात्रा फलदायी हुने विश्वास छ । 

राजनीतिमा लाग्ने कुरा कल्पनासमेत नगरेकी सूचना प्रविधि उद्यमी सिर्जना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी छन् । व्यवसायमा स्थापित भइसकेपछि नीतिगत अवरोधसँग जुध्दै राजनीतिमा प्रवेश गरेकी उनी संसद् र संसदीय समितिमार्फत अर्थतन्त्र, सूचना प्रविधि र उद्योग व्यवसाय क्षेत्रका समस्या सम्बोधनका लागि सक्रिय छिन् । २२ वर्षको व्यावसायिक अनुभवलाई नीतिनिर्माणमा उपयोग गरेर देशको अर्थतन्त्रलाई गतिशील बनाउने उनको लक्ष्य छ ।

उद्ममशीलताबाट नीतिनिर्माणसम्म

सिर्जनाको परिवार र माइती दुवैतर्फ राजनीतिक पृष्ठभूमि थिएन । उनको मनमा राजनीतिबारे बनेको धारणा पनि सकारात्मक थिएन । राजनीतिलाई पुरानो पुस्ताले गर्ने कामका रूपमा बुझ्ने उनी आफैँ कुनै दिन सांसद बन्छु भन्ने सोचमा थिइनन् । 

व्यवसायका समस्या बुझ्दै जाँदा उनलाई नीति नै धेरै समस्याको मुल विषय हो भन्ने लाग्न थाल्यो । यही क्रममा उनी क्यान महासंघमा जोडिइन् । केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दा उनले देशभरिका सूचना प्रविधि क्षेत्रका समस्या प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाइन् । 

एआई नीति, डेटा प्रोटेक्सनलगायत विषयमा सरकारलाई सुझाव दिइए पनि त्यसको अपेक्षित कार्यान्वयन नभएपछि कहिलेकाही निकै दिक्क लागेको उनि सुनाउँछिन् । “हामीले सुझाव त दियौँ तर कार्यान्वयन भएन । त्यसले मलाई नीतिगत तहमा नै पुगेर काम गर्नुपर्छ भन्ने लाग्यो,” श्रेष्ठ भन्छिन् । 

जेन्जी आन्दोलनले देशको राजनीतिक डिस्कोर्स नै परिवर्टन गरेन सिर्जनाको राजनीतिक सोचलाई निर्णायक रूपमा बदलिदियो । युवा र विज्ञहरू राजनीतिमा नआएसम्म देशको अवस्था बदल्न कठिन हुने निष्कर्षमा पुगेपछि उनले वैकल्पिक राजनीतिको बाटो रोजिन्, राजनीतिमा लाग्ने । 

राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा प्रवेश गर्दा उनी क्यान महाङ्घमा कार्यवाहक अध्यक्ष थिइन् । पार्टीले महिला नेतृत्वको आवश्यकता औँल्याउँदै उनलाई अगाडि बढ्न प्रोत्साहित गर्‍यो । चुनावी प्रक्रिया र तीन चरणका परीक्षासमेत पार गरेर उनी समानुपातिक सांसद बनिन् । 

सांसदका रूपमा शपथ लिएको दिन उनका लागि राजनीतिक जीवनको सबैभन्दा स्मरणीय क्षणमध्ये एक बन्यो । टेलिभिजनमा देखिने र राजनीतिमा विज्ञ मानिएका अग्रज व्यक्तित्वहरूको बिचमा बसेर शपथ लिँदा आफूभित्र गहिरो जिम्मेवारीबोध भएको उनी बताउँछिन् ।

“अहिलेसम्म मैले आफ्नो र परिवारका लागि गरेँ, अबको मेरो जीवन देशका लागि समर्पित गर्नुपर्छ भन्ने महसुस भयो,” उनी भन्छिन् । त्यही दिन आफू अब पछाडि फर्किने अवस्थामा नरहेको अनुभूति भएको उनको भनाइ छ ।

राजनीतिमा प्रवेशअघि राजनीति ‘फोहोर खेल’जस्तो लाग्ने भए पनि सांसद बनेपछि त्यसको वास्तविक शक्ति बुझेको श्रेष्ठ बताउँछिन् । एउटा सही नीति र निर्णयले पूरै देशको दिशा बदल्न सक्ने शक्ति राजनीतिमा रहेको उनको निष्कर्ष छ । त्यसैले आफ्नो २२ वर्षको व्यावसायिक अनुभवलाई अब नीतिगत तहमा प्रयोग गर्ने उनको योजना छ ।

व्यवसाय र संसद्को जिम्मेवारी

संसद् प्रवेशपछि पनि उनको व्यवसाय पूर्ण रूपमा रोकिएको छैन । पतिसँगै व्यवसाय सञ्चालन गर्दै आएकी श्रेष्ठसँग संस्थामा अनुभवी टिम छ । व्यवसायलाई अटोमेसनमा लैजाने प्रयासले पनि उनलाई राजनीतिक जिम्मेवारी सम्हाल्न सहज बनाएको छ । 

“व्यवसायमा राम्रो टिम तयार गरेकाले अहिले संसद्को काममा केन्द्रित हुन सकेकी छु,” उनी भन्छिन्‌् । पत्नी, आमा, व्यवसायी र राजनीतिक नेताको भूमिका एकसाथ निर्वाह गर्नु सहज भने छैन तर महिलाले एकैपटक धेरै जिम्मेवारी सम्हाल्न सक्ने क्षमता राख्ने उनको विश्वास छ ।

पछिल्लो केही समयदेखि उनी पूर्ण रूपमा संसदीय काममा केन्द्रित छिन् । उनी आवद्ध राजनीतिक दल रास्वपाले उनलाई सुनसरी–१, धरानको जिम्मेवारी पनि दिएको छ । आफ्नो माइती क्षेत्र भएकाले धरानसँग उनको भावनात्मक सम्बन्धसमेत छ ।

धरानमा पर्यटन, संस्कृति र शिक्षाको ठुलो सम्भावना रहेको उनी मान्छिन् । एउटै नगरमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल इन्जिनियरिङ कलेज, हात्तीसार कलेज र पिण्डेश्वरी संस्कृत विद्यापीठजस्ता शैक्षिक संस्था हुनु धरानको विशेषता भएको उनको भनाइ छ ।

“धरानको विकासले समग्र नेपालको पर्यटनमा ठुलो योगदान दिन सक्छ,” श्रेष्ठ भन्छिन् तर सम्भावनाको तुलनामा विकासको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको उनको बुझाइ छ । नीतिगत अस्पष्टताले धेरै परियोजना प्रभावित भएको उनको निष्कर्ष छ ।

नेपालको अर्थतन्त्र सुधारका लागि कृषि, शिक्षा र सूचना प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने श्रेष्ठको धारणा छ । कृषिलाई प्रविधिसँग जोडेर उत्पादन र बजार व्यवस्थापन सुधार गर्न सकिने उनको विश्वास छ । सूचना प्रविधिमा सफ्टवेयर निर्यातको ठुलो सम्भावना रहेको र त्यसबाट देशभित्रै रोजगारी सिर्जना गर्न सकिने उनी बताउँछिन् । 

आर्थिक सुधारको आधार भने शिक्षा प्रणाली रहेको उनको धारणा छ । “बजारले खोजेको जनशक्ति तयार गर्ने शिक्षा प्रणाली बनाउनुपर्छ । त्यसो भए मात्र अर्थतन्त्र बलियो र चलायमान हुन्छ,” श्रेष्ठको निष्कर्ष छ । 

‘मिनी पार्लियामेन्ट’मा सक्रियता

उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति उनको रोजाइको संसदीय समिति    हो । सदनमा पर्याप्त समय नपाइने भएकाले समिति सांसदका लागि नीतिगत हस्तक्षेपको महŒवपूर्ण माध्यम बनेको उनको बुझाइ छ ।

“हामीलाई सदनमा बोल्न समय एकदमै कम हुन्छ । त्यसैले समितिले ‘मिनी पार्लियामेन्ट’को काम गरिरहेको छ,” उनी भन्छिन् । सिर्जना कागजी छलफलमा मात्र सीमित हुन चाहन्नन् । उनी आफैँ बजारमा पुगेर एमआरपी, सामानको तौल र व्यवसायी उपभोक्ताका समस्या बुझ्ने गर्छिन् । यसले संसदीय भूमिकालाई केवल सदनमा भाषण गर्ने कामभन्दा बाहिर लैजान खोजेको देखाउँछ । 

सूचना प्रविधि क्षेत्रबाट राजनीतिमा आएकी श्रेष्ठको प्राथमिकतामा डिजिटल अर्थतन्त्र स्वाभाविक रूपमा परेको छ । नेपालले ‘डिजिटल नेपाल’को लक्ष्य अघि सारे पनि त्यसअनुकूल कानुनी र नीतिगत संरचना अझै पर्याप्त नभएको उनको मूल्याङ्कन छ ।  

एआई नीति, साइबर बुलिङ, डेटा प्रोटेक्सन र डेटा सेक्युरिटीका क्षेत्रमा तत्काल कानुनी सुधार आवश्यक रहेको उनी बताउँछिन् । “हामी डिजिटल नेपालको कुरा गर्छौँ तर नीति नियमहरू धेरै ठाउँमा पुरानै छन्,” श्रेष्ठ भन्छिन् ।

सञ्चार क्षेत्रलाई पनि प्रविधिको बदलिँदो अवस्थाअनुसार जिम्मेवार र सुरक्षित बनाउने कानुनी संरचना आवश्यक रहेको उनको धारणा छ । सामाजिक सञ्जालमा ट्रोलिङ र गलत सूचनाको प्रभाव बढ्दै जाँदा सार्वजनिक संवादमा समेत असर परिरहेको उनी बताउँछिन् ।

बैंकिङ फ्रड नियन्त्रण, डेटा सुरक्षादेखि मेटालगायत विश्वव्यापी डिजिटल प्लेटफर्मसँग आधिकारिक समन्वय गर्ने व्यवस्था निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

पार्टीभन्दा माथि देश 

सङ्घीय संसद्मा नयाँ सांसदका रूपमा सिर्जनाका लागि आगामी दिन चुनौतीपूर्ण छन् तर हरेक समस्या समाधान गर्न सकिने अठोट उनमा छ । सङ्घ, प्रदेश र स्थानीय तहबिचको  समन्वयलाई विकासको अर्को महŒवपूर्ण आधार मान्छिन् । सङ्घले नीति बनाउने तर कार्यान्वयनका तहमा प्रदेश र स्थानीय सरकारबिच समन्वय नहुने हो भने उपलब्धि हासिल गर्न नसकिने उनको धारणा छ । “माथिको सरकारलाई फेल गराउन काम नगरिदिने मानसिकताबाट हामी माथि उठ्नुपर्छ,” उनी भन्छिन् ।

आफू पार्टीको सीमाभन्दा माथि उठेर देश र जनताको प्रतिनिधिका रूपमा काम गर्न तयार रहेको उनको दाबी छ । व्यवसायमा नीतिगत समस्या भोग्दै आएकी एक सूचना प्रविधि उद्यमी अन्ततः त्यही समस्या समाधान गर्ने ठाउँमा पुगेकी छन् । उनको यात्राको सबैभन्दा रोचक पक्ष यही हो, व्यवसाय छाडेर राजनीति रोजेकी होइनन् बरु व्यवसायमा भोगेका समस्याको समाधान खोज्दै नीतिनिर्माणको केन्द्रसम्म आइपुगेकी हुन् । 

सूचना प्रविधि, उद्यमशीलता, उद्योग व्यवसाय र डिजिटल अर्थतन्त्रका मुद्दालाई संसद्मा बलियोसँग उठाउन पनि थालेकी छिन् । “विगतमा पार्टीमा नलागे पनि अब मँ राजनीतिमा लागिसकें, पछाडि फर्किदिनँ,” उनी भन्छिन्, “व्यक्ति, संसद, उद्यमी र पार्टीभन्दा माथि देश छ । आफ्ना व्यवसायिक र व्यक्तिगत काममा थोरै समय छुट्याउँदै मेरो जीवन देशका लागि समर्पित गरिसकेको छु ।” 

(टक्सार म्यागजिन, भाद्र २०८३ मा प्रकाशित । टक्सारको नियमित स्तम्भ संसदीय मञ्चमा संसदमा नवप्रवेशी, फरक फरक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यका  विषयमा फिचर गरिने गरिएको छः सं)